काठमाण्डौ । दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमले विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को समयमा समस्यामा परेका ग्राहकहरुका लागि विशेष राहत प्याकेज घोषणा गरेको छ । 

बन्दाबन्दीका कारण फोनमा ब्यालेन्स नभएका (रिचार्ज गर्न नपाएका) प्रयोगकर्ताका लागि राहत प्याकेज विशेष सहयोगी हुने आशा स्मार्टले गरेको छ । 

सामाजिक उत्तरदायित्वका (सी एस आर) रुपमा स्मार्टले आफ्नो फोनमा शून्य व्यालेन्स भएका प्रयोगकर्ताका लागि ३० मिनेट अन नेट र ३०० एमबी डाटा (फोरजी) निःशुल्क उपलब्ध गराइरहेको छ  । यो अफरको समय ३० दिन निर्धारण गरिएको छ ।  

यसैगरी, लकडाउनमा घरै बसेर काम गरिरहेका ग्राहकहरुका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि रु. २९९ रुपैयाँंमा(३८१.७९ करसहित) ३० दिनका लागि ४५ जिबी डाटा उपलब्ध गराएको छ । 

त्यस्तै ७६.७५ रुपैयाँमा (९८ रुपैयाँ करसहित) एक साताका लागि ३ जिबी डाटा उपलब्ध गराएको र साथै स्मार्टदेखि स्मार्टमा फोन गर्दा भने एक साताका लागि कुनै शुल्क नलाग्ने स्मार्टले जनाएको छ ।  

स्मार्टले नेपालको ग्रामीण भेगमा सेवा प्रदान गर्दै आएको छ । सन् २०१३ मा स्मार्टले युनिफाइड लाइसेन्स प्राप्त गरेको थियो । स्मार्टले सन् २००८ देखि नै नेपालको ग्रामीण भागमा आफ्नो सेवा सुरु गरिसकेको थियो । स्मार्ट नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक संस्था हो ।