काठमाण्डौ । विश्व महामारी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण विद्यालय बन्द रहेको अवस्थामा दिवा खाजा कार्यक्रमअन्तर्गतको करोडौँ रकममा ब्रह्मलुट मच्चाइएको पाइएको छ। 

महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५८ औँ प्रतिवेदनबाट यस्तो देखिएको छ।

प्रतिवेदनअनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैत ११ गतेबाट देशव्यापी रुपमा लकडाउन जारी गरिएको थियो। तर विभिन्न स्थानीय निकायले लकडाउनका बेला विद्यालयहरु बन्द रहेको अवस्थामा पनि करोडौैँ रकम निकासा गरेको पाइएको हो। 

लकडाउनका बेला धनुषाको सबैला नगरपालिकाले १ करोड १३ लाख रुपैयाँ, सिराहाको सिराहा नगरपालिकाले १ करोड ३८ लाख रुपैयाँ, रौतहटको फतुवा नगरपालिकाले ९७ लाख रुपैयाँ, रौतहटकै गरुडा नगरपालिकाले ७७ लाख रुपैयाँ, धनुषाको गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख रुपैयाँसमेत गरी २८ नगरपालिकाले २०७७ वैशाख, जेठ र असार महिनामा वास्तविकता यकिन नगरी दोस्रो र तेस्रो चौमासिकको पूरै दिवा खाजाबापतको १४ करोड २१ लाख ६८ हजार ५८२ रुपैयाँ विद्यालयहरुलाई निकासा गरेको पाइएको प्रतिवेदनमा जनाइएको छ।

यसैगरी रौतहटकै दुर्गा भगवती गाउँपालिकाले १ करोड २१ लाख ७१ हजार रुपैयाँ र यमुनामाई गाउँपालिकाले ७४ लाख ९९ हजार रुपैयाँ, सप्तरीको छिन्नमस्ता गाउँपालिकाले ५९ लाख ८६ हजार रुपैयाँ, धनुषाको जनक नन्दिनी गाउँपालिकाले ५५ लाख ९६ हजार रुपैयाँ, सर्लाहीको कौडेना गाउँपालिकाले ५४ लाख ७२ हजार रुपैयाँ गरी १३ गाउँपालिकाले १६६ विद्यालयलाई २०७७ वैशाख, जेठ र असारमा दोस्रो र तेस्रो चौमासिकको दिवा खाजाबापतको ६ करोड ३ लाख ५६ हजार रुपैयाँ निकासा गरेको पाइएको छ। 

विद्यालय बन्द रहेको अवस्थामा उक्त अवधिको निकासा भएको दिवा खाजाको रकम यकिन गरी असुल गर्न महालेखाले निर्देशन दिएको छ।