काठमाण्डौ । सरकारले लकडाउनको कडाईलाई केही खुकुलो पार्ने भएको छ । 

कोरोना रोकथाम तथा नियन्त्रण समितिको शुक्रबार साँझ सम्पन्न बैठकले सर्वसाधारणको आवागमनलाई पूर्ण रुपमा रोक्दा अवस्था जटिल भएको समीक्षा गर्दै त्यसलाई केही खुकुलो बनाउने निर्णय गरेको हो । 

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले मान्छेको आवागमनलाई नियन्त्रण गर्ने र यही बेला आपूर्ति व्यवस्था पनि सहज बनाउने चुनौतिलाई केही सहज बनाउँदै न्यूनतम आवश्यकताका कुरा उत्पादन, ढुवानी, वितरण तथा किनमेलमा रोकन लगाउने निर्णइ भएको बताए । 

आजको बैठकमा हामीले अहिलेसम्मका निर्णयको समीक्षा र रोकथाम प्रयासको प्रभावको पनि समीक्षा गर्यौं । मान्छेको आवागमनलाई नियमन गर्ने र योसँगै आपूर्ति व्यवस्थित गर्ने विषय निकै जटिल हुँदो रहेछ । डा. खतिवडाले भने –‘यहीकारण न्यूनतम आवश्यकताका कुरा उत्पादन, ढुवानी र वितरण र त्यसका ग्राहकको आवागमनलाई नरोक्ने निर्णय गरेका छौ । तर यो अवधिमा ठूला उद्योग र व्यवसाय स्थगित अवस्थामै राख्ने निश्कर्षमा पुगेका छौ ।’

उनले न्यूनतम रुपमा मात्र आवागमन खुल्ला गर्ने निर्णय भएको उल्लेख गर्दै कहीँकतै खाद्य सामाग्रीको ढुवानीका साधन रोकिएको रहेछ, सामान्य किनमेल गर्न जाँदा कसैलाई रोकिएको रहेछ वा भन्सारदेखि बजारसम्म अत्यावश्यक वस्तुको ढुवानीमा समेत अवरोध रहेको रहेछ भने त्यसलाई खुल्ला गर्ने निर्णयमा पुगेको प्रष्ट्याए ।

सरकारले अत्यावश्यक किनमेललाई खुल्ला राखे पनि दूरी कायम गरी मात्र किनमेल गर्न, भीडभाड नगर्न र आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र बजारमा निस्किन समेत नागरिकहरुमा आह्वान गरेको छ ।