भानु भट्टराई पेशाले कलाकार हुन् । उनी अहिले सचित्र किताबको व्यवसायबाट व्यवसायीको परिचय बनाउन लागिपरेका छन् । विज्ञापन एजेन्सीमा काम गर्दै विभिन्न पत्रपत्रिकाहरुमा काम गरेको करीब १० वर्षको अनुभवपछि भानुले आफूलाई व्यवसायी बनाउन लागेका हुन् । उनीसहित ५ जनाको टिमले किताबको काम सुरु गरेका छन् ।
 
सचित्र किताब ३ देखि १० वर्षसम्मका केटाकेटीलाई उपयुक्त हुने गरी तयार पारिएको १० बालकिताबको सेटसहित बजारमा उपस्थिति जनाएको 
 
किताब प्रकाशक हो । १० किताबको सेटलाई कोशेली नाम दिइएको छ ।
 
के छ कोशेली सेटमा ?
कोसेली प्याकेटभित्र १० बालकिताब छन् । सबै किताबमा पाना भरिभरिका चित्र छन् । एकदमै आकर्षक, रङ्गीन र विषयवस्तु सुहाउँदो । 
 
बालबालिकाको उमेर, रुचि र आवश्यकतालाई उपयोगी हुने विषयवस्तु किताबमा समेटिएका छन् । 
 
एकैपटक १० राम्रा सचित्र किताब खोज्न झण्झट पनि परेन । 
 
बालबालिकाका लागि सचित्र किताबको कोसेली भनेर सचित्र किताब प्रालिले प्रकाशन गरेको १० सुन्दर बालकिताबहरुको एक प्याकेटको मूल्य रु. २ हजार २ सय पच्चीस राखिएको छ ।
 
बालपुस्तक हेर्दै दिक्क लाग्ने अवस्था आएपछि, यस्तो काम गरौं कि, कन्टेन्ट र भौतिक क्वालिटीमा कुनै पनि कम्प्रोमाइज नगर्ने र स्तरीय किताब बनाउने भन्ने विषयमा सल्लाहपश्चात यो काम सुरु भएको हो । 
 
‘नेपाली बालबालिकालाई कोर्सबाहिरका किताब अन्तरराष्ट्रिय क्वालिटीको दिनुपर्छ भन्ने सोचेर सचित्र किताबको काम सुरु भयो ।’ भानु भन्छन्, ‘हामीले कति सफलता हासिल गर्नसक्यौं भन्ने मूल्याङ्कन हुन बाँकी नै छ ।’
 
लकडाउनसँगै सुरु भएका कारण सचित्र किताबको यात्रामा पनि केही समय लकडाउन भयो । तर पनि कसरी अघि बढ्यो त सचित्र किताब ? 
 
किताब प्रिन्ट भएर प्याकिङ् हुँदै गर्दा लकडाउन भयो । केही टार्गेट थियो तर ५० प्रतिशतको हाराहारीमा मात्र त्यो पूरा हुन सक्यो होला भन्ने अनुमान छ ।
 
भानु आशावादी हुँदै सुनाउँछन्, ‘सचित्र किताबको अर्को प्रोजेक्टलाई एकदम असर गरेको छ । अनलाइनबाट अर्डर लिएर विक्रीवितरणको काम गरिरहेका छौं । अमेरिका, म्यानमार र अन्य देशमा पनि बजार विस्तारको काम भइरहेको छ ।’
 
उनलाई लाग्छ कि अब रणनीति नै पूरै फेर्नुपर्ने भएको छ । त्यसको सिलसिलामा डिजिटल मार्केटिङको काम पनि आउँछ ।
 
‘उत्पादन थन्केको कारण, हामीले गरेको तीनवर्षे योजनामा केही असर गर्ला कि भन्ने छ तर हामी योजना अनुसार काम गरिरहेका छौं ।’ भानु आशावादी छन् ।
 
बालकिताबको सम्भावना राम्रो छ । यसको बजार राम्रो छ भन्न त सकिन्नँ तर यो अपरिहार्य आवश्यकता भने हो । यो कुरा सबैले बुझ्नु जरुरी छ ।
केहीबाट अंग्रेजी किताब निकाल न भन्ने पनि आयो । हाम्रा अभिभावकहरु किन नेपाली किताब पढाउन चाहँदैनन् ? भानुको प्रश्न छ ।
 
किताबमा लगानी गर्ने कल्चर निर्माण गर्नुपर्ने देखिन्छ । २ सयको आइसक्रिम खानेले एउटा किताब किन्नका लागि ध्यान नदिएको तीतो यथार्थ छ । अप्रत्यक्ष किसिमले किताब पढ्नुपर्छ र बालबालिकाका लागि किताबमा लगानी गर्नुपर्छ भन्ने सन्देश दिने किसिमको अवेरनेस क्याम्पेन जरुरी छ ।
सचित्र किताब पनि यसका लागि केही तयारी गर्दैछ ।
‘नेपालगञ्ज, नेपालगञ्ज आसपास, काठमाडौं उपत्यका, वुटवल, विराटनगर, अमेरिका लगायतका स्थानमा  लकडाउनकै समयमा पनि किताब वितरण गर्न सक्यौं ।’ भानु लकडाउनको असर बिर्सँदै भन्छन्, ‘नेपाली भाषामा आजसम्म प्रकाशन नभएको किसिमको किताब प्रकाशन गर्न भनेर हामी काम गरिरहेका छौं ।’
 
लकडाउनले पारेको असरबाट बचेर अगाडि बढ्न सचित्र किताब लागिपरेको छ ।
 
भानु ढुक्क छन् र भन्छन्, ‘हामी कहिले पनि पछि हट्दैनौं । न्यूनतम तीन वर्षको योजना हामीसँग छ । त्यसपछि सहज रुपमा अगाडि बढ्ने भन्ने सोच र विजनेस प्लान हामीसँग छ ।’
 
सचित्र किताबको व्यवसायमा लगानी गरेका भानुको यात्रा उनको जिन्दगीको अभिन्न अंग हो ।
 
आर्टबाट बाँच्न त सकिन्छ तर आत्मनिर्भर भएर ढुक्क हुनसकिने अवस्था छैन । किनभने, आर्टलाई प्रोमोट गर्नपर्छ भन्ने सेन्स छैन हामीसँग । ५ करोडको घर बनाउँछौं अनि चित्र चाहिँ बजारिया फोटो राख्छौं, त्यो पनि महङ्गो नै हुन्छ फेरि । यसो भन्ने भानुले आफूले जानेको काम, रुचिको काम भएर यो सचित्र किताबको काम थालनी भएको हो ।
 
ललितकला पढ्न काठमाडौं आएका हुन् उनी । मनैदेखि त्यही रुचि थियो । तर परिवारबाट त्यस्तो चाँजोपाँजो मिलेन । त्यतिखेर प्राविधिक विषय पढ्न सुझाइयो तर उनी पत्रकारितामा भर्ना भएँ । त्यतिबेलाको आइए पास गरेपछि उनी त्रिचन्द्र कलेजमा स्नातक भर्ना भए ।
 
भानुले त्रिचन्द्रको छतबाट सिर्जना कलेजको छतमा आर्टको काम हुँदै गरेको देखे । त्यसपछि उनले त्रिचन्द्र कलेजको पढाइ छाड्ने निर्णय गरे । यस बारे दाजुसँग सल्लाह गरे । दाजुको सहमति पाएपछि उनी फेरि आर्टको आइएफए पढ्न सिर्जना कलेजतिर लागे । 
 
आज सम्झिँदा उनलाई ठीक गरेँ भन्ने लाग्छ ।
 
कलाकारको रुपमा २०६५ सालतिर कलेजमै बनाएको गणेशको चित्र ३५ सयमा बिक्री भएको उनको जीवनको आर्टको कामबाट भएको पहिलो कमाइ हो । एउटा आर्ट ७० हजारसम्म बिक्री गरेका छन् उनले ।
 
आर्टमा अनुभवको ठूलो भ्यालु छ । मनिटरी भ्यालुका लागि पनि ।
 
भानुको रहर बालबालिकासँग काम गर्ने छ । उनी केटाकेटीसँग खेल्न र रमाउन मन पराउँछन् । उनको अनुभव यस्तो छ, अरुसँग नमान्ने नानीबाबु पनि उनीसँग रमाउँछन् ।
 
सचित्र किताब योजना यही भावनाले पनि जोड गरेको हुनसक्छ । यो बालबालिकाका लागि गरिएको समर्पण पनि हो ।
 
भानु किताब योजनाको गम्भीरता सोच्छन् र भन्छन्, ‘हामीले यो किताब निकाल्न १ वर्ष लगायौं । १ महिना त हामीले रिसर्च गरेका छौं । डमी किताबमा फिड्व्याक लिएर मात्र बजारमा ल्याएका हौं । अभिभावक, शिक्षक, बालबालिकाहरुलाई एकचरण पढ्न दिएर अन्तिम रुप दिएका हौं किताबलाई ।’
किताबको गुणका पक्षमा उनी सचेत भएको जिकिर गर्दै भन्छन्, ‘फिडव्याकका आधारमा पनि हामीले किताबलाई पुनः सम्पादन गरेका छौं । चित्र, कन्टेन्ट र डिजाइनमा ।’
 
नेपालमा राम्रो कन्टेन्ट लेखिने कुराको अभाव छ । 
 
लक्षित पाठक को हो ? त्यस अनुसार कुन लेवलको कस्तो कन्टेन्ट चाहिन्छ ? त्यस अनुसार सचित्र किताबले लेखकहरुसँग काम गरेको छ ।
 
किताब निकाल्ने काम भनेको टिमवर्क हो । लेखक, चित्रकार, सम्पादक, डिजाइनर, प्रकाशक मिलेर किताब बन्ने हो । राम्रो किताब बन्न बराबर भूमिका हुन्छ । प्रकाशक टिमको लिडर हो र ऊ आफैंमा सचेत हुनुपर्छ । प्रकाशकको क्वालिटी कोअर्डिनेसन जरुरी हुन्छ । पैसा लगानी गरेको भरमा मात्र राम्रो बालकिताब प्रकाशन सम्भव छैन ।
 
लेखक र चित्रकारको भेट नै नभइ किताब निकाल्ने काम हुनु हुँदैन भन्ने कुरामा सचित्र किताबको टिम सचेत छ ।
 
आगामी दिनमा नाफाको रकमबाट निःशुल्क किताबको अभियान पनि सञ्चालन गर्ने योजना छ सचित्र किताबको ।
 
सचित्र किताबको कोशेली सेटमा भएका १० चित्र किताब पढेर आगामी कामका लागि हौसला र सुझाव दुवै दिनका लागि सचित्र किताबले अनुरोध गरेको छ ।