काठमाण्डौ । भारतको राजधानी नयाँदिल्लीमा कोरोना संक्रमणको तीव्रता अझै रोकिएको छैन । सुनामीको गतिमा फैलिएको कोरोना संक्रमणको चेन ब्रेक नभएको निश्कर्ष निकाल्दै त्यहाँको सरकारले लकडाउनको अवधि एक हप्ताका लागि थप गरेको छ । 

दिल्ली राज्य सरकारले लकडाउनको अवधि १ हप्ताका लागि थपेको हो । 

मुख्यमन्त्री केजरीवालले आइतबार लकडाउनको अवधि एकहप्ताले थपिएको घोषणा गरेका हुन् । 

उनले दिल्लीमा कोरोनाका संक्रमण तीव्र बनेको र यो नियन्त्रणका लागि लकडाउनको अवधि बढाउनुपर्ने बाध्यता आइलागेको समेत सो क्रममा बताएका छन् । 

कोरोना संक्रमणसँगको लडाईमा अन्तिम हतियार लकडाउन रहेको दाबी गर्दै उनले मे ३ को बिहान ५ बजेसम्म नयाँ आदेश कार्यान्वयनमा रहने बताएका छन् । 

केजरीवालले दिल्लीमा अक्सिजनको हाहाकार भएको समेत बताएका छन् । दिल्लीमा हाल दैनिक ७०० टन अक्सिजनको माग रहेको, तर केन्द्र सरकारबाट ४८० टन मात्र प्राप्त भइरहेको गुनासो गरे । 

दिल्लीलाई आवश्यक परेजति अक्सिजनको सप्लाई नभइरहेकोमा उनले दुःख प्रकट गरेका छन् । 

भारतीय मिडियाहरुका अनुसार दिल्लीमा कोरोना संक्रमणदर ३२ प्रतिशत भन्दा पनि माथि पुगिसकेको छ । अस्पतालहरुमा अक्सिजनको संकट गहिरिँदो छ । कतिपयले अक्सिजन घर घर मा स्टोर गरेका कारण समेत अस्पतालहरुमा यस्तो अवस्था आएको मिडियाहरुले बताएका छन् । 

यसअघि १९ अप्रीलको राति १० बजेदेखि दिल्लीमा लकडाउन सुरु भएको थियो । जुन २६ अप्रीलसम्म कायम थियो । 

यसअघिको लकडाउनको घोषणा गर्दा त्यहाँका सरकारी अधिकारीहरुले यसका कारण कोरोना संक्रमणका घटनाहरुमा कमी आउने र स्वास्थ्य सामाग्रीहरुको तयारी गर्न समय मिल्ने दाबी गरेका थिए । तर, लकडाउनका बाबजुद दिल्लीमा कोरोना संक्रमणको गति कम भएको छैन ।