काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन अझै लम्बिनसक्ने संकेत गरेका छन् । 

केहीबेर अघि देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका हुन् । 

'आउने २ साता हाम्रा लागि थप चुनौतिपूर्ण हुनसक्छ । यो अवधिमा समुदायमा अझ बढी संक्रमण हुनसक्छ । यो बेलासम्म चनाखो हुनुपर्छ ।' उनले सम्बोधनको क्रममा भनेका छन्-'आउने केही हप्ता हामीले केही थप साह्रोगाह्रो सहँदा जीवन बच्छ, समुदाय बच्छ र देश बच्छ भन्ने कुरा बुझ्नुपर्छ । महाभूकम्प जाँदाको ५ वर्षअघिको झै धैर्यता अपनाऔं । आपूर्ति व्यवस्था र सुरक्षा व्यवस्थाको सरकारले प्रबन्ध गर्छ । कुनै कुराको अभाव हुन दिइन्न । तर, यो अवधिसम्म सबैको साथ र  ऐक्यबद्धताका लागि हार्दिक आग्रह गर्छु ।' 

उनले २ सातादेखि लकडाउनका कराण समस्या परेकोप्रति क्षमायाचना गर्दै भनेका छन्–‘जेलमा लामो समय बिताएकोलाई लामो समयको एकान्तबासको पीडा थाहा छ । तर, यो लकडाउन महामारीविरुद्धको अपरिहार्य कदम हो ।’ 

लकडाउनकै कारण महामारी फैलिन नदिने प्रयासमा ठूलो प्रयत्न पुगेको उल्लेख गर्दै समस्या यथावत रहेको र थप सावधानी नअपनाए अवस्था भयावह बन्न सक्ने भन्दै अगाडि भनेका छन्–‘सबै खालका कठिनाई भोगेर पनि साथ दिनुभयो, धन्यवाद । बाँकी समयका लागि पनि धैर्यतापूर्वक साथ दिनुहोला ।' 

कोरोनाविरुद्धको लडाईमा सफलता पाउने उपयुक्त हतियार भनेकै सामाजिक दूरी रहेको विभिन्न मुलुकहरुको अनुभवले देखाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दूरीका लागि लकडाउन नै विकल्पहीन उपाय रहेको प्रष्ट पारे ।