काठमाण्डौ । सरकारले जारी लकडाउन एक साता थप्ने भएको छ । 

आइतबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउन ७ दिन बढाउनुपर्ने निश्कर्ष निकाल्दै सोही निर्णय मन्त्रीपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिमा जारी लकडाउनलाई बढाएर चैत २५ गतेसम्म पुर्याउने विषयमा सर्वसम्मति कायम भएको हो । 

आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रीपरिषद बैठकले लकडाउनको विषयमा उच्चस्तरीय समितिको सिफारिसलाई अनुमोदन गर्ने एक मन्त्रीले जानकारी दिए । 

समितिको बैठकमा केही मन्त्रीहरुले भने लकडाउनलाई एकैपटक २ साता लम्बाएर कुल तीन साताको बनाउनुपर्ने प्रस्ताव गरेका थिए । तर, अधिकांशले चाहि अर्को एकसाता थप्नुपर्ने र आवश्यकता हेरेर त्यसपछि पुनः निर्णयमा पुग्न सकिने भन्दै आफ्नो राय पेश गरेका थिए । अधिकांशको जोड १ साता लम्बाउनेमा रहेकोले सोही अनुसार निर्णय भएको बताइएको छ ।

उच्चस्तरीय समितिको लकडाउन लम्ब्याउने प्रस्तावलाई अनुमोदन गर्न बस्ने मन्त्रीपरिषद बैठकले अति विपन्न र दैनिक रोजीरोटी गर्नेहरुका लागि विशेष राहात प्याकेज समेत घोषणा गर्ने संभावना रहेको छ ।