काठमाण्डौ । सरकारले जारी लकडाउनलाई पुनः कम्तीमा एकसातासम्म लम्ब्याउने भएको छ । 

कोरोना रोकथाम र नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा लकडाउनलाई कम्तीमा पुनः एक साता लम्ब्याउनुपर्ने सहमति बनेको र सोही विषयलाई सोमबार बस्ने मन्त्रीपरिषद बैठकले निर्णय गर्ने स्रोतको दाबी छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजेदेखि बालुवाटारमा मन्त्रीपरिषद बैठक बोलाएका छन् । सो बैठकले जारी लकडाउनलाई कम्तीमा एकसातासम्म लम्ब्याउने निर्णय गर्नेछ । 

कतिपय मन्त्रीले लकडाउनलाई ८ देखि १० दिनसम्म लम्ब्याउनुपर्ने समेत बताइरहेका छन् । तर, कम्तीमा ७ दिन चाहि लकडाउन लम्बिने निश्चित भएको एक मन्त्रीले जानकारी दिए । 

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्मको लकडाउन घोषणा गरेको थियो । भाइरस संक्रमितको संख्या बढ्दै गएपछि र जोखिमको अवस्था समेत ज्यूका त्यू रहेको भन्दै सरकारले लकडाउनलाई ८ दिन बढाएर चैत २५ गते मध्यराति १२ बजेसम्म पुर्याएको थियो । सो लकडाउनलाई पुनः एकसाताले लम्ब्याउन लागिएको हो । 

हिजो बसेको उच्चस्तरीय समितिको बैठकमा भारतले अप्रील १५ सम्म लकडाउन जारी राखेको र नेपालको लकडाउन समेत कम्तीमा सोही दिनसम्म, नभए पनि एक दुई दिन अझै बढीसम्म जारी राख्नुपर्ने विषयमा छलफल भएको थियो । 

पछिल्लो समय सुदुरपश्चिममा एकैदिन ३ जना नयाँ संक्रमित फेला परेसँगै यसले समेत लकडाउनलाई लम्ब्याउन दवाब पुगेको बताइएको छ । सुदुरपश्चिम सरकारले समेत लकडाउनलाई बढाएर २१ दिनको बनाउनुपर्ने सुझाव केन्द्र सरकारलाई दिइसकेको छ । 

कैलालीका एक आयातित संक्रमितबाट उनकी भाउजूलाई संक्रमण सरेपछि कोरोना भाइरस संक्रमणको दोश्रो चरण अथवा लोकल टान्समिसन सुरु भएको सरकारले घोषणा गरेको थियो । यो चरण अझ जोखिमपूर्ण हुने भएको भन्दै स्वास्थ्य विज्ञहरुले समेत सरकारलाई लकडाउन लम्ब्याउन सुझाव दिइरहेका छन् । कतिपय विज्ञले त लकडाउनको अवधि कम्तीमा २८ दिनको बनाउनुपर्ने बताइरहेका छन् । 

यी सबै सुझाव, परिस्थितिहरुको विश्लेषण गर्दै सरकारले लकडाउन बढाउने विषयमा आवश्यक निर्णय लिने बताइएको छ । 

प्रधानमन्त्रीको सम्बोधन आउनसक्ने
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रीपरिषद बैठक सकिएपछि देशबासीको नाममा सम्बोधन गर्न सक्छन् । 

मन्त्रीपरिषद बैठक चाँडै सकिएमा प्रधानमन्त्रीले साँझसम्म सम्बोधन गर्नसक्ने बालुवाटारस्थित स्रोतले जानकारी दिएको छ । 

यदि आज संभव भएन भने भोलि प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्नेछन् । 

सम्बोधनको विषयवस्तु तथा समयको विषयमा आज बस्ने मन्त्रीपरिषद बैठकले नै टुंगो लगाउने बताइएको छ । 

प्रधानमन्त्रीले यसअघि दुई साताअघि सम्बोधन गरेका थिए । सोही क्रममा उनले देशमा सेमी लकडाउनको समेत घोषणा गरेका थिए । 

प्रधानमन्त्री स्वयम् आफ्नो सम्बोधनबाटै लकडाउन थपिएको, सीमा बन्दको अवधि समेत थपिएको घोषणा गर्न चाहन्छन् ।