-जीवन विष्ट
धनगढी । देशमा ‘लकडाउन’ भएपछि स्कूल कलेज सबै बन्द भए । सबै फुर्सदमा थिए’ उनले भने, ‘मैले त्यही समयको सदुपयोग गरेको हुँ।’ उनी अर्थात् गणेश कठायत । अब त उनले चित्रकारको पहिचान बनाइसकेका छन् । 

कोरोना संक्रमणको महामारी बढ्दै भएपछि सरकारले लकडाउन घोषणा गर्यो । त्यो लकडाउनले धेरैको रोजीरोटी खोस्यो तर, टिकापुरका गणेश कठायतलाई भने लकडाउन नै फलिफाप भयो ।

पहिलो चरणको लकडाउनको २७ औं दिनमा उनले पहिलोपटक चित्र कोरेका थिए ।

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पस तेस्रो वर्षमा अध्ययनरत कठायतको दैनिकी चित्र कोरेरै बित्छ । 

सानैदेखि रचनात्मक क्षेत्रमा रुचि राख्ने कठायतमा अहिले पनि त्यो रुचि कम भएको छैन । आफ्नो सृजनशील कामलाई नै उनको नामको र आम्दानीको पाटो बनाउन थालेका छन् ।

कठायतलाई खाली समय फलिफाप भएको हो । ‘अरू के गरौं भन्छन् म चित्र कोरेर बस्छु’ उनले भने ‘समय कटेको पत्तै हुँदैन ।’

उनको चित्र हेर्दा जोकोही पनि उस्तै दुरुस्तै देखेर अचम्भित हुन्छन् । लाग्छ बर्षौ पहिले बर्षौ लगाएर सीप सिकेका हुन् । तर, उनी भन्छन्, ‘रुचि भए जति कठिन काम पनि सहज हुँदो रहेछ । त्यो पनि २/४ दिनमै  ।’

छिमेकी दाइले बनाएको चित्र देखेर उनलाई चित्र बनाउन मन लाग्यो । उनीबाटै थप सुझाव र प्रेरणा मिल्यो । 

कठायतलाई उनका साथी र सहपाठीहरूले पनि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै जाँदा राम्रो र सकात्मक प्रतिक्रिया, हौसला दिइनै रहे । 

त्यसपछि...

उनले आफ्नो छुट्टै फेसबुक पेज खोले । पेजमा आफूले बनाएका सम्पूर्ण चित्र पोस्ट गर्दै गए । उनलाई अहिले धेरैले तस्बिर कोर्न आग्रह गर्न थालेका छन् । उनीहरूमध्ये अधिकांशले उनलाई पारिश्रमिक दिन्छन् । ‘कतिले त्योभन्दा पनि धेरै ठूलो सुझाव दिएर जान्छन्,’उनले भने ।

उनले चित्र बेचेरै आफ्नो खर्च टारिरहेका छन् । भन्छन्, ‘मलाई आफ्नो चित्रको सामान किन्न खर्च चलाउन पुगेको छ ।’

उनलाई एउटा तस्बिर बनाउन एकदिन लाग्छ । अहिले तस्बिर बनाउन भ्याइनभ्याई छ । तर पनि समय मिलाएर सबैको रहर पूरा गरिदिएको उनी बताउँछन् ।

उनी आफूजस्ता प्रतिभाहरू थुप्रै भए पनि अहिलेसम्म कसैले चासो नदिएकोमा भने खिन्न छन् ।