काठमाण्डौ । नेपालमा चैत ११ गतेदेखि जारी लकडाउन पुनः लम्ब्याउने तयारी थालिएको छ । 

स्वास्थ्य विज्ञहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामहरुको प्रशंसा गर्दै जोखिमलाई कम गर्न लकडाउनको अवधि अझै लम्ब्याउनुपर्ने सुझाव दिएपछि सरकारले लकडाउन लम्ब्याउने तयारी थालेको हो । 

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले आफूहरुले सरकारलाई लकडाउनको अवधि अझै एक साता लम्ब्याउन सुझाव दिएको बताएका छन् । 

स्वास्थ्य मन्त्रालयको यो सुझावको विषयमा सरकारका मन्त्रीहरु समेत सकारात्मक छन् । डा. कार्कीले भनेजस्तो एकसाता मात्रै लकडाउन लम्ब्याउँदा बैशाख २ गतेसम्म जान्छ । तर, सरकारका अधिकांश मन्त्रीहरु भारतले आह्वान गरेको लकडाउनको अन्तिम दिनभन्दा पनि केही पछिसम्म नेपालमा समेत लकडाउन जारी राख्नुपर्ने तर्क गरिरहेका छन् । 

भारतमा मोदी सरकारले २४ मार्चमा अप्रील १५ सम्मका लागि लकडाउन गरेको छ । सरकारका मन्त्रीहरु नेपालमा पनि अप्रील १७ सम्म लकडाउन गर्नुपर्ने विषयमा छलफल गरिरहेका छन् । 

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी(सीसीएमसी)का सदस्य समेत रहेका एक मन्त्रीले दिएको जानकारी अनुसार लकडाउनको अवधि कम्तीमा एकसाता लम्बिने र बढीमा अप्रील १७ सम्म जानसक्छ। 

विज्ञहरुको सल्लाह र सीसीएमसीका सदस्यहरुले दिएको जानकारीका आधारमा नेपालमा जारी लकडाउन कम्तीमा एकसाता अझै लम्बिने चाहि प्रष्ट देखिन्छ । 

स्वास्थ्य विज्ञ तथा मन्त्रीहरु भारतबाट नेपालमा मानिसहरुको प्रवेशको क्रम पछिल्लो पटक धेरै भएको र सबैलाई क्वारेन्टाइनमा नराखिएकोले कोरोना भाइरस संक्रमणको जोखिम बढ्नसक्ने संभावना रहेको भन्दै तत्काल लकडाउन खोल्न नहुने पक्षमा देखिएका छन् । 

यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सकारात्मक रहेका ती मन्त्रीले जानकारी दिए । ‘कोरोना भाइरसको संभावित जोखिम नियन्त्रणका लागि लकडाउनको अर्को विकल्प नै छैन ।’ ती मन्त्रीले भने–‘लकडाउन लम्ब्याउने विषयमा निर्णय हुनेछ ।’ 

त्यसो त सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रील १५ सम्म राख्ने यसअघि नै निर्णय गरिसकेको छ । 

लकडाउनको अवधिलाई केही लम्ब्याउने र त्यसपछि पनि अन्तराष्ट्रिय उडान तथा सीमा नाका खोल्न भने हतार गर्न नहुने विज्ञहरुले सरकारलाई सुझाइरहेका छन् । 

विश्वका अन्य देशहरुमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएका कारण अन्तराष्ट्रिय उडानहरु अन्तराष्ट्रिय परिस्थिति सामान्य नभई खोल्न नहुने विज्ञको सुझाव छ । 

यस्तै, भारतमा समेत कोभिड १९ संक्रमण फैलिन कम नभएकोले अप्रील १७ पछि लकडाउन खोले पनि सीमा नाकाबाट हुने सर्वसाधारणको आवातजावत बन्द जारी राख्नुपर्ने उनीहरु बताउँछन् ।

‘देशभित्रको लकडाउन मात्र खोल्न सकिन्छ, तर अन्तराष्ट्रिय उडान र सीमा खुल्ला गर्नतर्फ लागियो भने संक्रमण फेरि भित्रिन सक्छ ।’ विज्ञहरु भन्छन्–‘सरकारले यी दुई विषयमा लकडाउन खोलेपछि पनि विचार पुर्याउन आवश्यक छ ।’

प्रधानमन्त्रीले पुनः सम्बोधन गर्ने
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा भइरहेका प्रयास, यसमा जनताले दिएको साथ लगायतका विषयलाई लिएर देशबासीको नाममा पुनः सम्बोधन गर्ने भएका छन् । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले देशबासीको नाममा पुनः सम्बोधन गर्ने तयारी भइरहेको बताए । उनका अनुसार प्रधानमन्त्रीले पुनः सम्बोधन गर्ने दिन र समय भने निश्चित भइसकेको छैन । 

सरकारकै अर्का एक मन्त्रीले प्रधानमन्त्रीेले नै देशबासीको नाममा सम्बोधन गरी लकडाउनको अवधि पुनः लम्ब्याउने विशेष घोषणा गर्नसक्छन् । त्यसो हुँदा प्रधानमन्त्रीको सम्बोधन सोमबारसम्म आइसक्नुपर्ने हुन्छ ।