काठमाण्डौ । एभरेष्ट बैंकसँग मर्जरमा जाने तयारीमा रहेको भनिएको लक्ष्मी बैंक लिमीटेडले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । 

यो बैंकको मंगलबार सम्पन्न १६ औं वार्षिक साधारणसभाले २०७३ असार मसान्तसम्म कायम सेयर पूँजीको ३८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो । 

सो बोनस शेयर २०७३ असार मसान्त पश्चात प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेवापत सो विकास बैंकका शेयरधनीहरुलाई जारी गरिएको शेयर तथा १००% हकप्रद शेयर पश्चात हाल कायम पूँजीको १८.२९% हुन आउँछ । प्रोफेशनल दियालो विकास बैंकबाट कायम भई आएका शेयरधनीहरु, १००% हकप्रद शेयरको बाँडफाँडबाट कायम शेयरधनीहरु तथा अवितरित हकप्रद शेयरको लिलामीबाट कायम शेयरधनीहरु समेत उक्त बोनस शेयर पाउन योग्य हुने बैंकले जनाएको छ । 

साथै, सभाले बैंकको चुक्तापूँजीमा संस्थापक शेयरको अंश ५१ प्रतिशत कायम रहने गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट विश्वकरण जैन तथा श्रीमति स्वाति रुङ्गटा सञ्चालक समितिमा निर्वाचित भएका छन् । 

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंक रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता संपूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पुर्याउने एक प्रमुख बैंकिङ्ग सेवा प्रदायकको रुपमा स्थापित छ । उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा परिचित हुँदै आएको छ । 

बैंकले करिब ७०० भन्दा बढी कर्मचारीमार्फत ३६ जिल्लामा आफ्नो ६८ शाखा मार्पmत सेवा पुर्याएको छ । बैंकले सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै सन् २००९ मा मोवाइल बैंकिङ्ग (मोवाइल मनी) सेवा संचालन सुरु गरेको थियो । 

आ.व. २०७२/७३ मा ४८.१५ अरब निक्षेप र ४०.३६ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ५५ अरब रहेको छ । सोही अवधिमा बैंकले ११५ करोडको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । 

लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी हाल ५१ वटा शाखा मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।  लक्ष्मी बैंकले लक्ष्मी इक्विटी फण्ड नामक दोश्रो म्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ ।