काठमाण्डौ । लक्ष्मी बैंकको २ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन साउन ५ गतेसम्म आवेदन दिन पाइने भएको छ। 

बैंकले गत असार २८ गतेदेखि ‘लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्रमा आवेदन खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार ३१ गते वा ढिलोमा साउन ११ गते हुने भनिएको थियो। तर मागअनुसार आवेदन नपरेकै कारण यो ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको होे। 

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले आज बैंकिङ समयसम्म यो ऋणपत्रमा आवेदन दिन सकिने जनाएको छ। 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र निष्कासन गरेको छ। कुल इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ८ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ४० हजार इकाइ ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ६० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। आवेदन सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट दिन सकिनेछ। 

१० वर्षे यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत असार १५ गते निष्कासन अनुमति दिएको थियो। यसमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्।