काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले सिन्धुलीको भिमान र रामेछापको हिलेदेवी गरी २ वटा शाखामा आबद्ध ग्राहक सदस्यलाई बेमौसमी तरकारी खेती तथा व्यावसायिक बाख्रापालन तालिम प्रदान गरेको छ। 

गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सञ्चालन भएको तालिममा व्यवसायउन्मुख ५४ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए। बेमौसमी तरकारी खेती तथा व्यसायिक बाख्रापालनसम्बन्धी परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरणतर्फ रुपान्तरण गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको संस्थाले जनाएको छ। 

तालिम कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले संस्थाको कार्य विस्तार क्षेत्रहरुमा वित्तीय कारोबारअन्तर्गत आर्थिक परिचालनमा सहयोग र तालिमका माध्यमबाट सीप र क्षमता अभिवृद्धि गरी कृषकहरुलाई हौसला तथा उत्साह प्रदान गरेजस्तै ग्राहकहरुले पनि संस्थाको उद्देश्यअनुरुप वित्तीय कारोबारमा अनुशासित हुँदै तालिमपश्चात सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने आवश्यकतामा जोड दिएका थिए। तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवर्द्धन अधिकृत (कृषि विशेषज्ञ) ओमप्रकाश भुसालले गरेका थिए। 

लक्ष्मी लघुवित्तले कर्जा, बचतबाहेक लघुवीमा, विप्रेषण, ट्याबलेट बैंकिङ, लक्ष्मी लघुवित्त स्मार्ट एप र लक्ष्मी लघुवित्त मोबाइल पैसा सुविधासँगै महिलालाई उद्यमशीलताका माध्यमबाट महिला सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले क्षमता अभिवृद्धि तथा सीप विकाससम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ।