काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफामा राम्रो बढोत्तरी गरेको छ । यो अवधिमा बैंकको खूद नाफा ५१ करोड ९२ लाख रुपैयाँको  उचाईमा पुगेको हो । अघिल्लो वर्षको यही अवधिमा यो बैंकको नाफा ४० करोड ६३ लाखमा सीमित थियो ।

नाफामा राम्रो वृद्धि गरे पनि बढेको पूँजी अनुसार आम्दानी गर्न नसक्दा बैंकको प्रतिसेयर आम्दानी(इपीएस)मा भने भारी गिरावट आएको छ ।

अघिल्लो वर्ष यही अवधिमा २६ रुपैयाँ ७४ पैसा रहेको प्रतिसेयर आम्दानी घटेर १२ रुपैयाँ ६३ पैसामा सीमित बन्न पुगेको हो ।

अघिल्लो वर्ष ३ अर्ब रहेको चुक्तापूँजी बढेर ८ अर्ब २२ करोड पुगे पनि सो अनुसार नाफामा भने वृद्धि हुन सकेन  । यसरी हेर्दा चुक्तापूँजीमा १७०.५२ प्रतिशतको बढोत्तरी भयो भने नाफा चाहि २८ प्रतिशतले मात्र बढ्यो । यहीकारण पनि प्रतिसेयर आम्दानी अनियन्त्रित बनेको हो । 

समीक्षा अवधिमा लक्ष्मी बैंकको खूद ब्याज आम्दानीमा पनि राम्रो बढोत्तरी भएको छ । अघिल्लो वर्ष ७७ करोड ६५ लाख रुपैयाँ रहेकोमा बढेर ९९ करोड ९८ लाखको उचाईमा पुगेको छ ।

यो अवधिमा बैंकले ६० अर्ब २७ करोड निक्षेप संकलन गरी ५५ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ५५ अर्ब ५५ करोड निक्षेप संकलन गरी ४६ अर्ब ७१ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकले खराब कर्जालाई सामान्य घटाएको छ । अघिल्लो वर्ष १.३१ प्रतिशत रहेको खराब कर्जा घटेर १.२९ प्रतिशतमा सीमित भएको हो ।

बैंकको सबैभन्दा  खराब पक्ष जगेडाकोषमा देखिएको ठूलो गिरावट हो । अघिल्लो वर्ष ३ अर्ब ६२ करोड रुपैयाँ रहेको जगेडाकोषमा रकम घटेर समीक्षा अवधिमा १ अर्ब ८८ करोडमा सीमित बन्न पुगेको छ । बैंकको जगेडाकोषमा यसरी गिरावट आउनु राम्रो संकेत होइन ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२९.९४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.८ गुणा कायम भएको छ ।