काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ सामान्य प्रगति गरेको छ । 

कम्पनीले समीक्षा अवधिमा २ करोड ३१ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा २ करोड २५ लाखमा सीमित थियो । यसरी कम्पनीले खूद नाफातर्फ ३ प्रतिशतको हाराहारीमा मात्र प्रगति गरेको देखिएको छ । 

व्यवसाय बिस्तारमा यो कम्पनीको औसत प्रगति देखिएको छ । यहीकारण खूद ब्याज आम्दानीतर्फ पनि सामान्य मात्र प्रगति भएको छ । अघिल्लो वर्ष यही अवधिमा ५ करोड ९० लाख रहेको यस्तो आम्दानी सामान्य बढी यो वर्ष ६ करोड ५९ लाख पुगेको छ । 

समीक्षा अवधिमा लक्ष्मी लघुवित्तले १ अर्ब १ करोड निक्षेप संकलन गरी तथा १ अर्ब ६८ करोड सापटी लिई २ अर्ब ९३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ७२ करोड ६६ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ३० करोड सापटी लिएर २ अर्ब ३२ करोड बढी कर्जा परिचालन गरेको थियो । 

कम्पनीले अघिल्लो वर्षको तुलनामा रिजर्ब कोषमा पनि निकै राम्रो प्रगति गरेको देखिएको छ । अघिल्लो वर्ष कोषमा १३ करोड ४१ लाख रुपैयाँ रहेकोमा बढेर २२ करोड ४८ लाखको उचाई चुमेको छ । 

अघिल्लो वर्ष ०.९३ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा केही बढी ०.९९ प्रतिशत पुगेको छ । 

चुक्तापूँजी स्थिर रहेका कारण कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष यही अवधिमा ३७.२१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर यो वर्ष ३८.२२ रुपैयाँ पुगेको हो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १९२.९० रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.१५ गुणा कायम भएको छ ।