काठमाण्डौ । एभरेष्ट बैंकसँग मर्जरको प्रक्रियामा लामो समय अल्झिएको लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सन्तोषजनक प्रगति गरेको छ । 

यो बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा बैंकको प्रगति झल्किएको हो । 

यो बैंकको वितरणयोग्य मुनाफा(फ्री प्रफिट) अघिल्लो वर्षको तुलनामा ३९.६२ प्रतिशतले बढी २५ करोड १३ लाखको उचाईमा पुगेको हो । 

खूद नाफातर्फ ३४.१२ प्रतिशत र संचालन मुनाफातर्फ ४१.४८ प्रतिशतको प्रगति गरेको देखिएको छ । अघिल्लो वर्ष २२ करोड ५९ लाखमा सीमित खूद नाफा बढेर यो वर्ष ३० करोड ३० लाखको उचाईमा पुगेको छ भने ३३ करोड ३२ लाखमा सीमित संचालन नाफा बढेर ४७ करोड १४ लाखको उचाईमा पुगेको छ । 

व्यवसाय बिस्तारमा समेत यो बैंक आक्रामक नै देखिएको छ । यहीकारण खूद ब्याज आम्दानीतर्फ २७.१४ प्रतिशतको प्रगति भई  ७४ करोड रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा लक्ष्मी बैंकले ६९ अर्ब ७ करोड निक्षेप संकलन गरी ६४ अर्ब ६२ करोड बढी कर्जा प्रवाह गरेको छ । बैंकले निक्षेप १७.७८ प्रतिशतले बढाउँदा कर्जा भने १८.८६ प्रतिशतले बढाएको देखिएको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब ९१ करोड रुपैयाँ रहेको रिजर्बकोषको आकार बढी ४ अर्ब ११ करोड सञ्चित भएको छ । 

बैंकले १.७८ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर १.५० प्रतिशतमा झारेको छ ।

अघिल्लो वर्ष १०.४० रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी १३.८८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५०.०२ रुपैयाँ कायम भएको छ ।