काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफातर्फ २९.४३ प्रतिशतको फड्को मारेको छ । 

अघिल्लो वर्षको यही अवधिमा ५१ करोड ९२ लाख रहेको यस्तो मुनाफा बढेर ६७ करोड २१ लाखको उचाईमा पुगेको हो । 

कम्पनीको खूद नाफा ६५ करोडबाट बढेर ७२ करोड ३७ लाखको उचाईमा पुगेको छ भने ८१ करोड ६२ लाखमा सीमित संचालन मुनाफा ३२.१० प्रतिशतले बढी १ अर्ब ७ करोडको उचाईमा पुगेको छ । 

व्यवसाय बिस्तारमा आक्रामक देखिएका कारण बैंकको खूद ब्याज आम्दानीतर्फ ४१.४९ प्रतिशतको फड्को देखिएको छ । अघिल्लो वर्ष १ अर्ब २ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब ४५ करोडको उचाईमा पुगेको हो । 

बैंकले ७५ अर्ब ८९ करोड निक्षेप संकलन गरी ७० अर्ब ५७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ५.४६ प्रतिशतले घटेको छ भने कर्जा भने २८.७५ प्रतिशतले बढेको छ । निक्षेप बढाउन नसकेको बैंकले कर्जातर्फ भने निकै ठूलो अंकको बिस्तार गर्नु असन्तुलित बाटोतर्फ अग्रसर भएको देखिन्छ ।

बैंकले २ अर्ब ९९ करोडमा सीमित रिजर्बकोषमा ४८.५३ प्रतिशतको छलाङ हानेको छ । दोश्रो त्रैमाससम्म रिजर्बमा ४ अर्ब ४४ करोड सञ्चित भएको हो।

बैंकले १.२९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटाएर १.११ प्रतिशतको अनुपातमा झारेको छ भने १५.८२ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर १७.६१ रुपैयाँ कायम भएको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५४.०८ गुणा कायम भएको छ ।