काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले चालु आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ। 

बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७० करोड ५५ लाख वितरणयोग्य नाफा आर्जन गरेको हो । नाफाको यो दर चौथो त्रैमाससम्म पनि कायम रहेमा र नियामकीय व्यवस्था वा अन्य प्रयोजनका लागि थप दायीत्वहरु सिर्जना भएनन् भने बैंकले यो वर्ष ९४ करोडको हाराहारीमा बाँड्न मिल्ने नाफा आर्जन गर्ने देखिन्छ । हाल यो बैंकको चुक्तापुँजी ८ अर्ब ९२ करोड रहेको छ । यो हिसाबले यो वर्षका लागि बैंकले १० प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको हो । 

बैंकले समीक्षा अवधिमा १ अर्ब २ करोड खूद नाफा आर्जन गरेको छ। यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १९.५६ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष १ अर्ब २७ करोडमा सीमित संचालन मुनाफा बढाएर १ अर्ब ५२ करोडको उचाई चुमाएको बैंकले १ अर्ब ६३ करोडमा सीमित खूद ब्याज आम्दानी ३४.४२ प्रतिशतले बढाएर २ अर्ब १९ करोड पुर्याएको छ । 

समीक्षा अवधिमा बैंकले ७७ अर्ब ४४ करोड निक्षेप संकलन गरी ७० अर्ब ५१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप १८.१३ प्रतिशतले बढेको हो भने कर्जा बिस्तारमा १७.८५ प्रतिशतको प्रगति देखिएको हो । यसरी हेर्दा बैंकको निक्षेप र कर्जातर्फको बिस्तार सन्तुलित देखिएको छ।

लक्ष्मी बैंकको रिजर्बमा सामान्य गिरावट आएको छ। अघिल्लो वर्ष यही अवधिमा २ अर्ब १७ करोड ५५ लाख रहेको रिजर्बमा सामान्य संकुचन आई २ अर्ब १७ करोड ११ लाखमा सीमित बनेको हो । 

बैंकमा अघिल्लो वर्षको यही अवधिसम्म १.१६ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर १.२ प्रतिशत पुगेको छ भने ७.७३ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ७.३२ प्रतिशत र ११.३५ प्रतिशत रहेको आधार दर १०.२६ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर १५.३९ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा १३.९७ रुपैयाँ मात्र थियो । 
यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३५.२० रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.३९ गुणा कायम भएको छ ।