काठमाडौं ।  लक्ष्मी बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

सेबोनले गत भदौ १७ गते लक्ष्मी बैंकलाई प्रतिइकाइ १ हजार रुपैयाँ दरमा २० लाख इकाइ ऋणपत्र बिक्री गर्न स्वीकृति दिएको हो ।

बैंकले १० वर्ष अवधिको ‘१०% लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । जसमा कुल इकाइमध्ये ८ लाख इकाइ सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १२ लाख इकाइ भने बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यो ऋणपत्रमा वार्षिक १०% ब्याजदर दिइनेछ ।

बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङले गर्नेछ । यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ ।

यसैबीच सनराइज बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न सेबोनमा अनुमति मागेको छ ।

गत भदौ २३ गते बैंकले प्रतिइकाइ १ हजार रुपैयाँको दरमा ३० लाख इकाइ ऋणपत्र बिक्री गर्न सेबोनसँग अनुमति मागेको हो ।

बैंकले ८ वर्ष अवधिको ‘१०.२५% सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न सेबोनसँग अनुमति मागेको हो। कुल इकाइमध्ये १२ लाख इकाइ सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाइ भने बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५% ब्याजदर पाउनेछन् । यो ऋणपत्रको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।