काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडको १ सय प्रतिशत हकप्रद निश्कासन सम्बन्धी प्रस्ताव नेपाल धितोपत्र बोर्डको हकप्रदको पाइपलाइनमा आएको छ । 

यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रद निश्कासनको माग गरी बोर्डमा आवेदन दिएको थियो । 

सिद्धार्थ क्यापिटल लिमीटेड लक्ष्मी बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक तोकिएको छ । 

२०७३ कात्तिक ७ गते सम्पन्न लक्ष्मी बैंकको विशेष साधारणसभाले प्रोफेसनल दियालो विकास बैंकलाई अक्वायर गरेपछि सतप्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । १ सय बराबर ५० को स्वाप अनुपातमा प्रोफेसनल दियालोलाई अक्वायर गरी लक्ष्मी बैंकले संयुक्त कारोबार समेत प्रारम्भ गरिसकेको छ । 

लक्ष्मी बैंकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना लगानीकर्तालाई ३८ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । हकप्रद भर्नेले पनि बोनस पाउने हुँदा लगानीकर्ताले पाउने वास्तविक बोनस दर भने १८.२९ प्रतिशत हुने बताइएको छ । बोनस सेयर हकप्रद निश्कासनपछि वितरण हुने बताइएको छ । 

हाल लक्ष्मी बैंकको चुक्तापूँजी ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ । हकप्रद र बोनस सेयर वितरणपछि यो बैंकको चुक्तापूँजी ७ अर्ब ४७ करोड पुुग्नेछ ।