काठमाण्डौ । लक्ष्मी बैंक र तिलगंगा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारका लागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकका प्रमुखकार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौत अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक रुपले विपन्न पृष्ठभुमिका बालबालिकाहरुको आखाँको क्यान्सर (रटिनोब्लाष्टोमा) को पहिचान र उपचारका लागि रु ५ लाखबराबरको आर्थिक सहयोग प्रदान गर्नेछ ।

रटिनोब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाक क्यान्सर हो । जुन सामान्यतया नवजात शिशु र पाँच वर्षसम्मका बालबालिकामा देखा पर्दछ । विश्वभर १५ हजार नवजात शिशुमध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ । यो रोग समयमा पत्ता लागेमा ज्यानमात्र होइन आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिहरुको विकास भएको छ ।

नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापी, लेजर थेरापी, प्लेग ब्राकिथेरापी, शल्यक्रियालगायतका प्रविधिबाट यो रोगको उपचार सुरु गरेको छ । 

सुस्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्यप्राप्तिमा सहयोग पुर्याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारका लागि यो आर्थिक सहयोग उपलब्ध गराएको हो ।