काठमाण्डौ । लाभांश पारित गर्ने मुख्य अजेन्डासहित लक्ष्मी बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

बैंकको सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ६ गते (डिसेम्बर २२) मा गर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई वितरण गर्ने भनी बैंकको सञ्चालक समितिले प्रस्तावको कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ ।

बैंकले चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख ८ हजार ६४२ रुपैयाँको १० प्रतिशतले हुन आउने ८९ करोड २० लाख ५० हजार ८६४.२ रुपैयाँबराबरको ८९ लाख २० हजार ५०८.६४ कित्ता बोनस सेयर र ५ प्रतिशतले हुन आउने ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । 

यसैगरी लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ मंसिर २२ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांशको हकदार र साधारणसभामा भाग लिन पाउने छन् ।