काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले २४.७६ प्रतिशतले खुद नाफा बढाएको छ । बैंकले यो अवधिसम्म ९० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ७२ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले वितरणयोग्य मुनाफा ५९ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । 

समीक्षा अवधिमा बैंकले १ अर्ब २९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष बैंकले १ अर्ब ७ करोड लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ७४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकले ८८ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ८० अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

गत वर्ष २ अर्ब २७ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा समीक्षा अवधिमा बढेर २ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १८.४१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ११.१९ रहेको छ ।