काठमाण्डौ । नेपालमै पहिलोपटक लक्ष्मी बैंक लिमिटेडले कार्डरहित एटीएम सेवा सुरु गरेको छ।

डिजिटल बैंकिङ प्रविधि विस्तार गर्ने अभियानको क्रममा लक्ष्मी बैंकले यो सेवा सुरु गरेको हो। अब बैंकका ग्राहकले आफ्नो एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने भएको छ। 

बैंकको मोबाइल एपमा रहेको एक सुविधा प्रयोग गरेर बैंकका ग्राहकले सजिलै एटीएमबाट कार्ड बिना नै पैसा झिक्न सक्ने बैंकले जनाएको छ। यो सुविधा लिन ग्राहकले बैंकको मोबाइल बैंकिङ एप चलाउनुपर्नेछ। अनि बैंकको सो सेवा सब्स्क्राइब गरेको हुनुपर्नेछ।  

यो सुविधा प्रयोग गर्न खासै गाह्रो नरहेको बैंकले जनाएको छ। ग्राहकले आफ्नो मोबाइल मनीमा लगइन गर्नेबित्तिकै ‘कार्डलेस विथड्र’ भन्ने अप्सन क्लिक गरेर चाहेजति रकम हाल्नुपर्नेछ। त्यसपछि ‘कन्फर्म’ गर्नका लागि आफ्नो एम–पिन वा फिंगरप्रिन्ट स्क्यान गर्नुपर्नेछ। यति गरिसकेपछि ग्राहकले आफ्नो फोनमा (मोबाइल मनीमा दर्ता भएको नम्बरमा) ‘ओटीपी कोड’ एसएमएसका रुपमा प्राप्त गर्नेछन्। जसलाई कारोबार नसकेसम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओटीपी कोड केही समयसम्मका लागि मात्र प्रयोग गर्न सकिनेछ। 

यति गरिसकेपछि एटीएम बुथमा एटीएममा पनि कार्ड हाल्नुअगाडि नै ग्राहकले ‘कार्डरहित’ भन्ने अप्सन देख्न सक्नेछन्। सोही अप्सन छानिसकेपछि आफ्नो मोबाइल मनीमा दर्ता भएको नम्बर हाल्नुपर्ने हुन्छ। त्यसपछि ग्राहकले प्राप्त गरेको ओटीपी कोड र मोबाइल मनीमा अनुरोध गरिएको रकम हालेपछि एटीएमबाट नगद प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

यो नौलो प्रविधि र सुविधाका सबैभन्दा महत्वपुर्ण फाइदा भनेको आफूले एटीएम कार्ड बोकी राख्न पर्दैन। ग्राहकले कारणबस आफनो कार्ड बिर्सिएमा स्मार्ट कार्डरहित एटीएम सुविधाद्वारा एटीएमबाट पैसा झिक्न सक्ने बैंकले जनाएको छ। 

यतिमात्र नभई नेपालभरि लक्ष्मी बैंकको एटीएमका माध्यमबाट आफूले चाहको ठाउँमा सजिलै पैसा पठाउन पनि सक्ने पनि बैंकले जनाएको छ। केवल ओटीपी कोड पठाउँदा अलि सावधानी अपनाउन भने बैंकले आग्रह गरेको छ।