काठमाण्डौ। लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिताको विजेता घोषणा गरेको छ। 

एक नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो ‘क्राउडसोर्सिङ’ प्रतियोगिता हो। यसअघि बैंकले ‘माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो। जसमा सहभागीहरुले बैंकको डेबिट कार्डका लागि विभिन्न प्रकारका डिजाइन पेस गरेका थिए। त्यसपछि उत्कृष्ट डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्डहरुमा प्रयोग हुँदै आएको छ। 

‘माई मोबाइल मनी’ प्रतियोगितामा भने ५ वटा विभिन्न शीर्षकमा रहेको र सहभागीहरुले प्रत्येक शीर्षकमा ३ मिनट सम्मको १–१ गरी कुल ५ वटासम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो। यस व्यवस्थाअन्तर्गत सहभागीहरुले प्रत्येक शीर्षकमा रु. ५० हजार गरी कुल रु. २ लाख ५० हजार ००० सम्म जित्ने अवसर रहेको थियो। 

प्रतियोगितामा विभिन्न क्षेत्र बाट ४५० भन्दा बढी रेजिस्ट्रेसन मार्फत निकै उत्साहजनक सहभागिता रहेको थियो । साथै पहिलो शिर्षकमा भने २ भिडियोहरु बिच बराबर भई २ वटै भिडियो बिजेता भएका छन्।

प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक तथा कथावस्तु, कार्यान्वयन र प्रासंगिकताका आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो। 

यस प्रतियोगिताका विजेताहरु

१. बिल भुक्तानी–१ 

लकेश दंगल (विराटनगर) र मन्दीप बखुन्छे ( भक्तपुर)

२. बिल भुक्तानी–२ 

विकास त्रपाठी (पोखरा)

३. कार्ड सेवा 

सन्तोश शाक्य (काठमाण्डौ)

४. कार्डरहित नगद निष्कासन 

भुवन तिवारी (भरतपुर)

५. नगद ट्रान्सफर 

छेवाङ गुरुङ (मुस्ताङ)

प्रतियोगिताबारे निर्णायक मण्डलको राय

‘यो प्रतियोगिताको निर्णायकका रुपमा मेरो अनुभव सुखद् रह्यो। प्रतियोगी भिडियोहरु रचनात्मक र मौलिक हुनुका साथै बैंकको ब्रान्ड झल्काउने खालका थिए। विजेता र सम्पूर्ण सहभागीलाई हार्दिक बधाइ दिन चाहन्छु’, काठमाण्डौ इन्टरनेसनल फिल्म फेस्टिभलका फेस्टिभल निर्देशन रम्यता लिम्बुले भनेका छन्। 

‘प्रतियोगी भिडियोको स्तर तथा प्रतियोगीको पूर्वतयारी आश्चर्यजनक थियो। विजेता र सहभागी सबैलाई हार्दिक बधाइ दिन चाहन्छु। साथै, यस्तो उत्कृष्ट अभियानका लागि बैंकलाई धन्यवाद दिन चाहन्छु’, भि–चित्र एड्भर्टाइजिङका म्यानेजिङ डाइरेक्टर शेखर क्षत्रीले भनेका छन्। 

बैंकले सो प्रतियोगिताका सबै विजेतालाई बधाइ दिँदै यो प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापन गरेको छ। साथै, यस प्रकारका नयाँ र रमाइला प्रतियोगिताहरु भविष्यमा पनि लिएर आउने बैंकले जनाएको छ।