काठमाण्डौ । लक्ष्मी बैंकले एफ–वान सफ्टसँगको सहकार्यमा ‘स्मार्ट फोन लोन’ सेवा सुरु गरेको छ। 

स्मार्ट फोन लोन एक कर्जारुपी सेवा हो । जसअन्तर्गत योग्य ग्राहकले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन्। कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारका आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स सफ्टवेयरले गर्नेछ।

हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकका लागि उपलब्ध गराउँदै लगिने योजना रहेको छ। 

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा सञ्चालनमा ल्याएको हो। यो कर्जा पूरै डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पूर्वस्वीकृत हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ। सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुनेबित्तिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको छ।