काठमाण्डौ । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ। 

बैंकको वित्तीय साक्षरता आभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयका १ हजारभन्दा बढी विद्यार्थीलाई सामान्य वित्तीय साक्षरतासम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउँदै खुत्रुके वितरण गरिएको थियो। यसका साथै युवाहरुमा प्रविधिको प्रयोग गरी बैंकिङ गर्ने बानीको विकास गर्नेे उद्देश्यले विभिन्न व्यवसायमा आबद्घ साना व्यवसायीलाई डिजिटल बैंकिङको प्रयोगसम्बन्धी ३ वटा तालिम सत्र सञ्चालन गरिएको थियो।

यसैगरी लक्ष्मी बैकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिवृद्घिसम्बन्धी वृत्तचित्र ‘समृद्घिको अभियान, लक्ष्य वित्तीय ज्ञान’ नेपाल टेलिभिजनबाट २०७७ चैत १० गते तथा चैत १५ गते प्रसारण गरिएको थियो। 

विश्व वित्तीय सप्ताहकै उपलक्ष्यमा वित्तीय जानकारीसहितको नववर्ष २०७८ सालको वार्षिक भित्तेपात्रो (क्यालेन्डर) को पाँचौँ संस्करणको विमोचन गरिएको थियो। २० हजार प्रति क्यालेन्डर छापी सात वटै प्रदेशका दुर्गम क्षेत्रमा यस्तो क्यालेन्डर वितरण गर्ने तयारी गरिएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता अभियानलाई प्रमुख प्राथमिकतामा राख्दै लक्ष्मी बैंकले यसअघि पनि विभिन्न सहभागितामूलक तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। भविष्यमा पनि यसलाई निरन्तरता दिँदै अधिकतम जनसमुदायमाझ वित्तीय सचेतना फैलाई वित्तीय पहुँच विस्तार गर्ने बैंकको योजना रहेको छ।