-अर्जुन तिमल्सिना

काठमाण्डौ । निकै छोटो समयमा उच्च विन्दूमा पुगेको बजार केही दिनदेखि लगातार सुस्ताउन थालेपछि लगानीकर्ताहरुमा अन्यौल देखिएको छ । कारोबार रकम पनि लगातार २ दिनसम्म रु. ५ अर्ब भन्दा माथि जानसकेको छैन । 

देशमा देखिएको नयाँ खालको राजनीतिक अन्यौलतासँगै लगानीकर्ताहरुमा पनि द्विविधाको अवस्था देखिएको छ । कारोबार रकम उल्लेखनीय रुपमा घट्नु भनेको धेरैजसो लगानीकर्ताहरु ‘पर्ख र हेर’को अबस्थामा रहेका र किनबेचमा सक्रिय नरहेका रुपमा बुझिन्छ।

नेप्से इण्डेक्स २७ सय नजिक पुगे पनि बैंक, जलविद्युत तथा होटेल सेक्टरमा खासै बढोत्तरी नआउँदा लामो समयसम्म सेयर लिएर बस्ने लगानीकर्तामा अब के हुने हो त ? यो बुल यत्तिकैमा सकिने त होइन ? भन्ने जस्ता प्रश्नहरुले घर गर्न थालेको छ । 

पूर्व बैंकर तथा बिश्लेषक अनलराज भट्टराई अहिले नै डराइहाल्नुपर्ने अबस्था नरहेको बताउँछन्  । ‘यस महिनाको सुरुदेखि नै हेर्ने हो भने त्यति धेरै उतारचढाव भएको छैन ।’ उनले भने–‘राजनीति पनि धेरै बिग्रेको छैन, ढिलोचाँडो निकास आइहाल्छ ।’ 

भट्टराईले तत्काल बैंक ब्याजदर बढ्ने अवस्था समेत नरहेको उल्लेख गर्दै भने–‘अब कम्तीमा पनि ३ महिना बैंकहरुले ब्याजदर बढाउँदैनन् । अहिले पनि जलविद्युत कम्पनीहरुले ७ प्रतिशतमै पैसा पाएकोले ब्याज बढ्ने र तरलता संकट हुने अवस्था देखिन्न । बैशाखबाट त सरकारले बिकास खर्चमार्फत गरेको खर्च बैंकहरुमा आउने हुँदा तरलता अझै सहज हुन्छ ।’ 

उनले तेस्रो त्रैमासमा बैंकहरुको रिपोर्ट राम्रै आउने दाबी गर्दै त्यसले बजारलाई राम्रो प्रभाव पार्नसक्ने प्रक्षेपण गरे । 

यसैगरी, सक्रिय लगानीकर्ता  मनिष चूँडाल बजार घट्नैपर्ने खास कारण केही नभएको दाबी गर्छन् । ‘सरसर्ती हेर्दा राजनीतिक कारण, विभिन्न कम्पनीको बोनस र हकप्रद सूचीकरण भई सेयरको अधिक आपूर्ति भएका कारण तथा नागरिक लगानीकोषको अक्सनको सेयरका कारण समेत बजारमा केही दवाब परेजस्तो देखिन्छ ।’ उनले भने–‘ब्याजदर पनि तत्काल बढ्दैन । अहिले तरलतामा दवाब देखिए पनि विकास खर्च र पुनरकर्जामार्फत फ्लो हुने पैसाले तरलता बढाउनेछ ।’ 

उनको विश्लेषणमा ब्याजदर बढ्ने होइन, बरु आगामी त्रैमासबाट बैंकहरुको आधार दर घट्ने हुँदा ब्याजदर अझै घट्ने संभावना छ । भट्टराईको तर्कसँग सहमत उनले थपे–‘कम्तीमा पनि अबको ३–४ महिनामै ब्याजदर बढ्ने कुनै संभावना नै छैन । त्यसकारण घट्दो बजार नयाँ लगानीकर्ताका लागि अवसरको खानी हो ।’ 

सरस्वती क्याम्पसको एमबीएम संकायका निर्देशक केपी पाण्डेको विचार भने केही भिन्न छ । उनको भनाईमा बजार अब कम्पनीबाट प्राप्त हुने प्रतिफलको आधारमा मात्रै बढ्छ । 

‘स्पष्ट ढंगले राजनीतिक निकास पनि आइसकेको छैन ।’ उनले बिजशालासँग भने–‘अर्थमन्त्रीकै कारण पनि बजार तलमाथि हुनसक्छ । बजार सधैं बढ्दैन, घट्छ पनि ।’ 

कोभिडको प्रभाव कम हुँदै गएपछि अन्यत्र पनि लगानीको अवसर सिर्जना हुने हुँदा अब बजार धेरै माथि जाने बिषयमा पाण्डे सहमत छैनन् । ‘थोरै भोल्युम भएका सेयरमा सट्टेबाजी गरेर मूल्य बढाइएको हो । बैंक नबढ्नुको कारण पनि धेरै भोल्युम भएर हो ।’ उनले भने–‘अब बढ्यो भने कम्पनीले दिने रिटर्नका आधारमा मात्रै बढ्छ ।’