काठमाण्डौ । अनपेक्षित रुपमा बैंकहरुले ब्याजदर वृद्धि गरेपछि त्यसले सेयर बजारको गतिलाई सुस्त बनाइदिएको छ । 

दशैंपछि खुलेको बजार सोमबारदेखि तीव्र गतिमा घट्न थालेको थियो । मंगलबार पनि बजारमा भीषण पहिरो गयो । एकपछि अर्को गर्दै बजार भीषण पहिरोको गतिमा घट्न थालेपछि नयाँ र साना मात्र नभई ठूला लगानीकर्ता पनि अत्तालिएका छन् । 

बैंकहरुको ब्याजदरकै कारण समस्या भएपछि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको विषयगत समितिको बैठक समेत बसेको छ । यी तीनवटै संगठनले आधिकारिक रुपमा एकाएक बढेको ब्याजदर र यो अवस्था निम्त्याउन राष्ट्रबैंकले चालेको दोषी कदमको विषयमा आवाज उठाउने तयारी थालेका छन् । 

निजी क्षेत्रका ठूला संस्था झै सेयर लगानीकर्ताको नाममा खुलेका संघ–संगठनले समेत तारन्तार बैठक गरिरहेका छन् । उनीहरु समेत बजार प्यानिक गतिमा घट्न थालेपछि यसविरुद्ध सामूहिक रुपमा आवाज उठाउने तयारीमा छन् । 

बजारका एक भेटेरान लगानीकर्ताले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै बजारमा आफूहरुले सोच्दै नसोचेको कुराहरु आएको र थाम्नै नसक्ने गरी बजार घट्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘हिजो मात्रै बैंकहरुले ब्याजदर भयावह ढंगले बढाउलान् भन्ने हामीले सोचेकै थिएनौं ।’ उनले भने–‘तर बढाइदिए । यदि हिजोको ब्याजदर स्थिर मात्रै आएको थियो भने आज बजारको अवस्था धेरै फरक हुन्थ्यो।’ 

बैंकहरुको ब्याजदर आतंकका कारण व्यवसायीहरु त्राही त्राही रहेका र यो समस्याको समाधान चाँडै खोज्नुपर्नेमा उनको जोड छ । ‘राष्ट्रबैंकले त्रुटिपूर्ण मौद्रिक नीति ल्याउँदा त्यसबेलै हामीले भनेका थियौं कि यसले पहिला सेयरबजारलाई प्रभाव पार्छ, त्यसपछि बिस्तारै अरु सेक्टरलाई पनि हान्छ ।’ उनले थपे–‘आजसम्म आइपुग्दा अवस्था त्यस्तै बनेको देखियो । अब ऋणको ब्याजदर समेत बढेर लगानीकर्ता नै निरुत्साहित हुने अवस्था बन्यो । यसमा राष्ट्रबैंकको नीति दोषी छ ।’ 

कोभिडका कारण थिलथिलो बनेको अर्थतन्त्र भर्खर उठ्न लागेको अवस्थामा कस्ट बढाउने अवस्था आउनु दुःखद रहेको तर्क गर्दै ती लगानीकर्ताले भने–‘डिपोजिटरलाई उत्साहित बनाएर व्यवसायीलाई निरुत्साहित बनाउनु हुँदैन भन्ने चेतना राष्ट्रबैंक र बैंकहरुमा आए मात्र बजार माथि जान्छ, यही प्रवृति रहे भविष्यमा अझै कति घट्न भनेर भन्नै नसकिने अवस्था बन्यो ।’ 

तर, ती भेटेरान लगानीकर्ताले प्रत्येक कालोबादलमा चाँदीको घेरा हुन्छ भन्ने उदाहरण पेश गर्दै बजारको अहिलेको गिरावट हेरेर ‘कोल्याप्सै हुन्छ’ भन्ने हिसाबले नसोच्न र नअत्तालिन समेत लगानीकर्तामा आह्वान गरेका छन् । 

स्वतन्त्र पूँजीबजार सुधार संघका केन्द्रीय अध्यक्ष रोहन कार्कीले राष्ट्रबैंक, बैंक तथा वित्तीय संस्थाका प्रमोटर र ठूला खेलाडीहरु मिलेर सुनियोजित ढंगले बजार घटाइएको दाबी गरे । साना र सोझा लगानीकर्तालाई आतङ्कित बनाउने हिसाबले ब्याजदर बढाइएको उल्लेख गर्दै उनले भने–‘म्युचुअल फण्डहरुलाई सेयर उठाउनुछ । बैंकका प्रमोटरलाई सेयर उठाउनुछ । संस्थागत लगानीकर्ताजति सबैलाई बजार अझै घटाएर सेयर उठाउनुछ । राष्ट्रबैंकका कर्मचारीलाई पनि सेयर उठाउनुछ । यी सबै मिलेर अत्याउने काम मात्र गरेका हुन, अब बजार धेरै घट्दैन ।’ 

उनले ३२०० मा पुगिसकेको बजार ७०० भन्दा बढी अंकले घटिसकेको उल्लेख गर्दै तरलता टाइट भएर बैंकहरुले ब्याजदर नबढाएका तर्क गरे ।

‘प्रणालीमै तरलता संकट थियो भने सनराइज, सानिमा जस्ता बैंकले किन ब्याजदर घटाए ? एनआइबी र एससीबी जस्ताले किन स्थिर राखे ?’ प्रश्न गर्दै उनले भने–‘तरलताकै संकट थियो भने बित्त कम्पनीहरुले ब्याजदर बढाएर १४ प्रतिशत पुर्याउँथे होलान् नि, किन बढाएनन् ? त्यसकारण ठूलाहरु मिलेर बनाएको योजनाका कारण बजार घटेको हो ।’ 

उनले बजारमा यो अवस्था बढीमा ४–५ दिनसम्म मात्र रहनसक्ने र त्यसपछि सस्तोमा सेयर उठाउन पुगिसकेका खेलाडीहरुले नै बजारलाई बढाउन थाल्ने दाबी समेत गरे । ‘कुनै पनि लगानीकर्ता अत्तालिने काम छैन, हेर्दै जानुहोला बजारले अलटाइम हाईलाई चाँडै ब्रेक गर्छ ।’ उनले थपे–‘नोेभेम्बरबाट बजार बढ्न थाल्छ, धेरै माथि पुग्छ ।’ 

उनले नियमनकारी निकायले समन्वय नगरेका र त्यस्ता निकायमा बस्नेहरु आफैं सेयरका खेलाडी बन्दा समस्या निम्तिएको आरोप समेत लगाए । ‘तर बजारमा लागेको यो कालोबादल धेरै क्षणिक हो, चाँडै फाँट्छ ।’ उनले थपे–‘यस्तो बेला लगानीकर्ता अत्तालिनुहुन्न ।’

उनले लगानीकर्ताका सबै संघसंगठनसँग आफूले समन्वय गरिरहेको र प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत लगानीकर्ताले भेट्ने प्रयास गरिरहेको बताए । ‘हामी यो दूषित खेलको भण्डाफोर गरेरै छाड्छौं ।’ उनले थपे–‘आफूलाई भेटेरान लगानीकर्ता भन्नेहरुको नकाब समेत उतारेरै छाड्छौं ।’