काठमाण्डौ । लगातार बढिरहेको अमेरिकी डलरको भाउ आज बिहीबार घटेको छ।

डलरको भाउ हिजो बुधबारको विनिमय दरको तुलनामा बिहीबार २६ पैसाले घटेको हो। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहीबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२२.३८ रुपैयाँ र बिक्रीदर १२२.९८ कायम भएको छ। हिजो बुधबार प्रतिडलर खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर १२३.२४ रुपैयाँ कायम भएको थियो। 

डलरको भाउ हिजो बुधबार ४८ पैसाले बढेको थियो। अघिल्लो दिन मंगलबार प्रतिडलर खरिददर १२२.१६ रुपैयाँ र बिक्रीदर १२२.७६ रुपैयाँ कायम भएको थियो। यो दिन डलरको भाउ २३ पैसाले बढेको थियो। 

त्यसो गत अप्रिल १८ मा डलरको भाउ नेपालकै इतिहासमा सर्वाधिक उचाइमा पुगेको थियो। यो दिन प्रतिडलर खरिददर १२१.९३ रुपैयाँ र बिक्रीदर १२२.५३ रुपैयाँ कायम भएको थियो।

विश्व महामारी कोरोनाभाइरसले एकातिर विश्व अर्थतन्त्र डामाडोल भइरहेको बेला अमेरिकी मुद्रा बलियो बन्दै गएको छ। जसका कारण अमेरिकी मुद्राको तुलनामा नेपाली मुद्रा कमजोर बनिरहेको छ।

डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीका लागि महँगो हुन जाने भएकाले यसको असर प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्रमा देखिने अर्थविद्हरु बताउँछन्।