काठमाण्डौ । निकै लामो समयपछि लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत(सीइओ) पाएको छ । सरकारले सो पदमा राष्ट्रबैंकका निवर्तमान डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको हो । 

बिहीबार साँझ बसेको मन्त्रीपरिषद बैठकले सो पदका लागि अन्तिम प्रतिस्पर्धामा रहेका लगानी बोर्डका पहिलो सीइओ राधेश पन्तलाई पन्छाउँदै अधिकारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

अधिकारीको नियुक्तिपछि लगानी बोर्डमा दोश्रो कार्यकालका लागि समेत सीइओ हुने पन्तको योजना तुहिएको छ । लगानी बोर्डको सीइओको कार्यकाल ४ वर्षको हुन्छ । 

लगानी  बोर्डको सीइओमा नियुक्त अधिकारी आर्थिक क्षेत्रमा राम्रो छवि बनाएका व्यक्ति हुन् । उनले निकै लामो समय नेपालको केन्द्रीय बैंकमा बिताएका थिए । पछिल्लो समय डेपुटी गभर्नर भएका उनी त्यसपछि सेवाबाट अवकास भएका थिए । गत पुसमा डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारी निकै महत्वपूर्ण मानिने लगानी बोर्डको सीइओ बन्न सफल भएका हुन् । अधिकारीले त्रिभूवन विश्वविद्यालयबाट बिजनेश एडमिनेस्ट्रेशनमा स्नातक र भारतबाट चार्टड एकाउण्टेन्सी गरेका छन् । उनी  गभर्नर समेत बन्न खोजेका थिए । तर प्रतिस्पर्धामा खरो उत्रन नसकेपछि राष्ट्रिय योजना आयोगमा समेत जान खोजेका थिए । 

लगानी बोर्डले दश अर्ब रुपैयाँभन्दा बढी लगानी तथा पाँचसय मेगावाटभन्दा बढी क्षमताको जलविद्युत आयोजनालाई एक द्वार नीतिअन्तर्गत हेर्दै आएको छ ।