काठमाण्डौ । नेपालका सेयर लगानीकर्ताहरु कागले कान लग्यो भन्ने कसैले हल्ला फैलाए भने आफ्नो कान नछामी कागको पछि कुद्ने गर्छन् । विज्ञ तथा जानकार, यस्तै विभिन्न संचारमाध्यमहरुले पटक–पटक सचेत गराउँदा समेत बजारका कच्चा लगानीकर्तामा यो प्रवृति अझै हटेको छैन । उदाहरणको रुपमा पोखरा फाइनान्सले आह्वान गरेको एफपीओमा परेको आवेदनलाई लिन सकिन्छ । पोखरा फाइनान्सले जुन मूल्यमा एफपीओ निश्कासन गरेको छ त्यसको केही बढी तिर्दा दोश्रो बजारमै किन्न पाइन्छ । तर, धराप कम्पनीको महंगो एफपीओमा लगानीकर्ताहरु कुरै नबुुझी लगानी गर्ने तँछाडमछाडमा उत्रिएका छन् ।

पोखरा फाइनान्सले २ सय २० रुपैयाँ प्रतिकित्ता(प्रिमियम १२० सहित)मा ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओको बिक्री साउन २९ गतेबाट खुलाएको थियो । दुुई दिनको अवधिमा यो कम्पनीको २१ करोड ६४ लाख मूल्यको एफपीओमा १४ हजार ८ सय २० आवेदकले २३ करोडको हाराहारीमा प्रस्ताव पेश गरिसकेका छन् । आज(साउन ३२) र भदौ १ गते अझ बढी आवेदन पर्ने भएकोले धराप कम्पनीको एफपीओमा समेत नसोचेको झिनाझम्टी हुने देखिएको छ । 

इच्छुक लगानीकर्तालाई न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । 

एनआइबिएल क्यापिटल मार्केटले एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा काम गरिरहेको छ । इच्छुक लगानीकर्ताले देशभरका आस्वा सेवा संचालनको अनुुमति पाएका बैंक तथा तिनका शाखाबाट अनलाइनबाट आवेदन दिन पाउने व्यवस्थाका कारण समेत आवेदन बढी परेको अनुमान गरिएको छ । जिल्लाका लगानीकर्ताहरुले बढी मात्रामा पोखरा फाइनान्सको एफपीओमा पैसा फसाएका बिक्री प्रबन्धक कम्पनीस्थित एक स्रोतले जनाएको छ । धेरै सोझा लगानीकर्ता पोखरा फाइनान्सको एफपीओमा फसेका देखिएको छ ।  

इक्रा नेपालले पोखरा फाइनान्सको बित्तीय स्वास्थ्य धराप भएकै कारण यसलाई ग्रेड फोरको रेटिङ दिएको थियो । फाइनान्स कम्पनीलाई दिइने यो रेटिङले उसको बित्तीय आधार निकै कमजोर रहेको इंगित गर्छ । 

पोखरा फाइनान्सको सेयर मूल्य दोश्रो बजारमा प्रतिकित्ता २ सय ५० रुपैयाँमै ओर्लिसकेको छ । बजारमै २ सय ५० प्रतिकित्तामा पाइने कम्पनीको एफपीओलाई मरिहत्ते गरेर २२० रुपैयाँ मूल्य लगाउनुु कति उचित होला ? फेरि स्वस्थ र बलियो कम्पनी भए त यो पनि जायज देखिन्थ्यो होला । धराप कम्पनीमा यति धेरै मूल्य लगाउने लगानीकर्ताले अन्ततः पुुर्पुुरोमा हात राख्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।