– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाली सेयर बजार विगत केही दिनदेखि घट्दो क्रममा थियो। गत अगस्ट महिनामा ३२०० पुगेको नेप्से इन्डेक्सका साथै कम्पनीको मूल्यमा भारी गिरावट आएसँगै नयाँ लगानीकर्ता ‘बियरिस ट्रेन्ड त सुरु भएन ?’ भनेर अन्यौलमा थिए।

बजारमा कतिपय नयाँ लगानीकर्ताले बजार अब घट्न सुरु भयो भन्ने शंकाले घाटामा पनि सेयर बेचेको बताउँछन्। तर आज बजार ७१ अंकले बढेसँगै लगानीकर्ता बजारप्रति सकारात्मक हुनुका साथै रौनक पनि बढेको देखिन्छ।

बजारका सक्रिय लगानीकर्ता आहन बन्जारा भन्छन्, ‘बजार विभिन्न बहानामा जति घट्नु थियो घटिसक्यो। धैर्यता नभएका लगानीकर्ताले घाटामा सेयर बेचिसके। अब बजार आफ्नो लयमा फर्किएको छ।’ 

अधिकांश कम्पनीको मूल्यमा करेक्सन आएकाले अहिले सेयर खरिद गर्ने बेला भएको बन्जाराले बताए। उनी भन्छन्, ‘अब कम्पनीहरुले लाभांश दिने बेला भयो। त्यसैले यो स्वअध्ययन गरी राम्रा लाभांश दिने कम्पनीहरु छनौट गरी लगानी गर्ने समय हो।’

‘मार्जिन लेन्डिङको बहानामा बजार जति घट्नु थियो बजार घटी सक्यो। ठुलाहरू पुनः बजार प्रवेश गरेको देखिन्छ। त्यसैले अब नेप्सेले नयाँ उचाइ छुने निश्चित छ’, बजारका अर्का लगानीकर्ता दुर्गा घिमिरेले भने। घिमिरे भन्छन्, ‘कम्पनीको मूल्य जति छिटो माथि पुग्छ, त्यति नै छिटो तल झर्छ भन्ने कुरा नयाँ लगानीकर्ताहरुले अब चाहिँ बुझ्न अत्यावश्यक छ। अब पनि राम्रा कम्पनीहरुमा लगानी नगरे लगानीकर्ताको अनशन र धर्ना बस्नेदेखि अन्य अरु केही उपाय हुने छैन।’

‘बजार त घट्छ भनेर बजारमा भन्नु नै हुँदैन। लगानीकर्ताहरुले श्रद्धाञ्जलि दिन थाल्नुहुन्छ’, बजारका अर्का सक्रिय लगानीकर्ताले नाम नखुलाउने आग्रह गर्दै भने, ‘आजभन्दा १ वर्ष अगाडि ८० रुपैयाँ रहेका केही कम्पनी सेयर मूल्य अहिले ८०० रुपैयाँसम्म पुगेका छन्। बजारमा यस्तो अवस्था देख्दादेख्दै अहिले पनि लगानीकर्ताहरू त्यही सेयर किन्दै हुनुहुन्छ। भीरबाट लड्ने गोरुलाई राम–राम भन्न सकिन्छ काँध हाल्न सकिन्न।’

बजारका अर्का लगानीकर्ता भन्छन्, ‘अर्थ मन्त्रालयले सेयर धितो कर्जामा कडाइसँगै ठूला लगानीकर्ताहरुले बजारमा खेल्न पाउँदैनन्। त्यसैले आज एक दिन बजार बढेर के भयो? अझै चार दिन बाँकी नै छ।’ बजेटमा केही कुराहरु संशोधनजस्तै हाइड्रो पावर कम्पनीहरुलाई कर्जामा छुट जस्ता कारणले आज बजार बढेको ती लगानीकर्ताको बुझाइ छ। धेरैजसो लगानीकर्ता बजारमा अझै पनि प्यानिक भएकाले भोलिको दिनमा बजार कुन दिशातर्फ मोडिन्छ भन्ने कुरा यकिन साथ भन्न नसकिने उनी बताउँछन्।