काठमाण्डौ । वार्षिक साधारणसभाबाट सतप्रतिशत हकप्रद वितरणको प्रस्ताव समेत पारित गरी सेयर मूल्य बढाएर एकाएक ग्लोबल आइएमई बैंकसँग गाभिने सहमति गर्न पुगेको रिलायवल डेभलपमेन्ट बैंकको लगानीकर्ता मार्ने रणनीति फेल भएको छ । 

लगानीकर्ताहरुको कडा विरोधपछि नेपाल धितोपत्र बोर्डले साधारणसभाबाट पारित भइसकेको सतप्रतिशत हकप्रद जारीको प्रस्ताव कार्यान्वयन नगरी प्राप्तिको प्रक्रियामा नजान कडा निर्देशन दिएको छ । 

रिलायवल डेभलपमेन्ट बैंक लिमीटेडले आफैं चुक्तापूँजी पुर्याउने भन्दै एनबी बैंकसँगको मर्जर भाँडिएपछि २०७३ असार १७ गतेको १० औं साधारणसभामा सतप्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पेश गरेको थियो । साधारणसभाले सतप्रतिशत(१ बराबर १) हकप्रद जारीको प्रस्तावलाई पास गरेको थियो । प्रस्ताव नै पास भइसकेको अवस्थामा लगानीकर्तालाई झुक्याएर रिलायवलले हकप्रदको प्रक्रियालाई समेत अन्यौलमा पारी ग्लोबल आइएमई बैंकसँग समाहित हुने सम्झौता गरेपछि लगानीकर्ता आक्रोशित भएका थिए । 

सेयर लगानीकर्ता संघले दशैंअघि आयोजना गरेको चियापान कार्यक्रममा लगानीकर्ताहरुले रिलायवलले गल्ती नसुधारे र पारित हकप्रद वितरण नगरे कडा आन्दोलन थाल्ने चेतावनी दिएका थिए । उनीहरुले यो बिषयमा नियामक निकायहरु पनि गम्भीर बन्नुपर्ने बताएका थिए । लगानीकर्ताहरुले दैनिकजसो रिलायवलको फट्याईविरुद्ध नेपाल धितोपत्र बोर्डमा गुनासोहरु गर्ने गरेका थिए । ढिलै भए पनि लगानीकर्ताको हितलाई सम्बोधन गर्दै धितोपत्र बोर्डले रिलायवललाई कडा निर्देशन दिएको हो । 

‘यसरीे प्राप्ति गर्ने निर्णय गर्नु अगावै उक्त संस्थाको साधारणसभाबाट हकप्रद शेयर जारी गर्ने निर्णय गरिएको परिप्रेक्ष्यमा हकप्रद शेयर जारी गर्ने निर्णय मूल्य संवेदनशील सूचना समेत भएकोले सोकोे कार्यान्वयन नगर्दा लगानीकर्ताहरुको हितमा प्रतिकुल असर पर्नसक्ने देखियो ।’ धितोपत्र बोर्डले एक प्रेस नोट जारी गर्दै भनेको छ–‘यसकारण साधारणसभाबाट सेयरधनीहरुलाई एक बराबर एक (१ः१) को अनुपातका दरले हकप्रद सेयर जारी गर्ने निर्णय कार्यान्वयन गरेर मात्र प्राप्ति गर्ने कार्य गर्न गराउन रिलायवल डेभलपमेण्ट बैंक लिमीटेडलाई निर्देशन दिइएको छ ।’