काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा माग भन्दा आपूर्ति बढी भएपछि र अमेरिकी डलर लगातार मजबुत बन्दै गएपछि केही साताअघि मात्रै ५९ हजारको उचाईमा पुुगेको सुनको भाउ ९ महिनाकै सबैभन्दा न्यून विन्दूमा झरेको छ । 

सोमबार सुनको भाउ प्रति तोलामा २ सय रुपैयाँले घटेर ५३ हजार ८ सय कायम भएको हो । यसअघि मंसिर १६ गते सुन तोलाको ५४ हजारमा झरेको थियो । यो मूल्य २०७३ कै न्यून विन्दुु थियो । त्यो भन्दा अझ तल झरेपछि सुनको मूल्य गत २०७२ जेठ २२ गतेकै बिन्दूमा पुुगेको हो । सो दिन पनि सुन प्रति तोला ५३ हजार ८ सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला ५३ हजार ८ सयमा कारोबार भइरहेको छ । १६ गतेदेखि कायम भएको ५४ हजार मूूल्य आइतबारसम्म स्थिर रहेको थियो । 

बजार विश्लेषकहरुले भविष्यमा सुनको भाउ अझ तल्लो स्तरसम्म आइपुुग्नसक्ने प्रक्षेपण गरेका छन् । नेपाली बजारमा सुनको भाउ प्रति तोला ५२ हजारसम्म झर्नसक्ने अनुमान गरिएको छ । 

पछिल्लो समय रुपैयाँको तुलनामा डलर मजबुत बन्दै गइरहेको छ । अघिल्लो शुक्रबार एक अमेरिकी डलरको खरीद दर १०९.६८ रुपैयाँ र बिक्री दर ११०.२८ रुपैयाँ तोकिएको छ । बीचको समय डलरको भाउ केही घटेको छ । डलरको भाउमा देखिएको बढोत्तरीको असरले समेत सुनको भाउ ओरालो लागेको हो । 

ग्लोबल मार्केटमा डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हासिल गरेसँगै डलर तीव्र गतिमा महंगो भइरहेको छ । डलरको मजबुती र त्योसँग रुपैयाँ अवमूल्यन बढिरहनु भनेको आगामी दिनमा सुन अझ धेरै घट्नसक्ने संकेत हो । 

लगानीका धेरै क्षेत्रमध्ये सुनलाई ‘लगानीको स्वर्ग’ मानिन्छ । तर सुनको भाउमा देखिएको तीव्र गिरावटका कारण सुन बिक्री गरी सो रकम राम्रा कम्पनीको सेयर तथा राम्रा म्युचुुअल फण्डमा लगानी गर्ने बढेका छन् ।