काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले हठात भएको संसद विघटनका लागि सिफारिसको निर्णयले लगानीको वातावरण खलबल्याउने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

बिजशालासँग कुरा गर्दै अध्यक्ष मोरले यस्तो चिन्ता व्यक्त गरेका हुन् । 

लामो समयको राजनीतिक द्वन्द्व र अस्थिरताबाट गुज्रिएको नेपालमा दुई तिहाई बहुमतको सरकार बनेसँगै राजनीतिक अस्थिरता अन्त हुने र लगानीको वातावरण समेत बन्न अपेक्षा विपरीत विकसित नयाँ राजनीतिक घटनाक्रमले निजी क्षेत्र मर्माहत भएको उनको प्रतिक्रिया छ । 

कोभिड १९ का कारण तहसनहस अर्थतन्त्रको सुदृढीकरणका लागि सिंगो देश जुट्नुपर्ने बेलामा उल्टो राजनीतिक अस्थिरता सुरुवात हुने घटना निम्त्याइएका कारण माहौल अझ बिग्रिनसक्ने बताए । 'कोभिड १९ बाट जर्जर अवस्थामा पुगेका  उद्योग व्यवसायको श्रीवृद्धिका लागि कतिपय नीतिगत व्यवस्था हामीले मागिरहेको बेला फेरि दन्दमा जाने खालको घटनाक्रम विकास हुनु भनेको दुर्भाग्य हो ।' उनले थपे-'यस्तो घटनाक्रमले बाह्य लगानी त आउँदैन नै, देशभित्रकै लगानीकर्ताको मनोबलमाथि पनि नराम्रो प्रभाव पर्छ ।' 

संसद विघटनका लागि सिफारिस गरिएको निर्णय बाहिरिएसँगै निजी क्षेत्र स्तब्ध भएको र लगानीकर्ताहरु समेत निराश बनेका संकेत सेयर बजारमा आएको पहिरोले समेत दिइसकेको मोरको विश्लेषण छ ।