काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त)सम्म लघुवित्त संस्थाहरुको लगानी बढेको छ भने खुद नाफामा भारी गिरावट आएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लघुवित्त वित्तीय संस्थाको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो।  

प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरुको लगानीमा वृद्धि भएको छ। २०७९ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल लगानी रु. ९ अर्ब ३७ करोड पुगेको छ जुन २०७९ असार मसान्तको तुलनामा ५३.७२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल लगानी ३२.६१ प्रतिशतले घटेको थियो। 

लघुवित्त वित्तीय संस्थाहरुले मुद्दति निक्षेपमा २०७९ पुस मसान्तसम्म रु. ७ अर्व ६१ करोड राखेका छन्। जुन रकम २०७९ असार मसान्तको तुलनामा ७०.८४ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्दति निक्षेपमा राखेको रकम ३८.०१ प्रतिशतले घटेको थियो। लघुवित्त वित्तीय संस्थाहरुले समीक्षा अवधिमा मुद्दति निक्षेपमा गरेको लगानीमा उल्लेखनीय वृद्धि भएको देखिन्छ। 

समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा ह्रास आएको छ। २०७९ पुस मसान्तसम्ममा उक्त लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आम्दानी रु. ३ अर्ब ३९ करोड र ब्याज खर्च रु. १ अर्ब ९१ करोड रहेको छ। 

समीक्षा अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाहरुले रु.७९ करोड खुद मुनाफा गरेका छन्। जुन अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ४.२० प्रतिशतले कम हो।

समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा उल्लेखनीय ह्रास आएको छ। उक्त लघुवित्त वित्तीय संस्थाहरुको २०७८ पुस मसान्तमा खुद मुनाफा रु. ५ अर्ब ८९ करोड रहेकोमा ५८.९० प्रतिशतले ह्रास भई २०७९ पुस मसान्तमा खुद मुनाफा २ अर्ब ४२ करोड पुगेको छ। 

समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आम्दानी रु. २७ अर्ब ३३ करोड र ब्याज खर्च रु. १६ अर्ब ५ करोड रहेको छ। 

यस अवधिमा सञ्चालित ६० खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये ८ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिन्छ।

जोखिम भारित सम्पत्ति र कुल सम्पत्तिको अवस्था

२०७९ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुवै बढेको छ। उक्त अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति रु. ५ खर्ब ११ अर्ब ८ करोड पुगेको छ। यो २०७९ असार मसान्तको तुलनामा ०.६२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति १२.२९ प्रतिशतले बढेको थियो। 

२०७९ पुस मसान्तमा कुल जोखिम भारित सम्पत्ति कुल सम्पतिको ९४.४१ प्रतिशत रहेको छ। जुन २०७९ असार मसान्तमा ९३.९९ प्रतिशत रहेको थियो।