काठमाण्डौ । आज बुधबार लघुवित्त समूहमा बहार र उछाल आएको छ।

बजार खुलेको सवा २ घन्टामा अहिले नेप्सेमा शीर्ष १० स्थानमा सबैभन्दा बढी कमाउने कम्पनीहरुमा ८ स्थान लघुवित्तले कब्जा गरेको छ। विजय लघुवित्त, छिमेकी लघुवित्त, इन्फिनिटी लघुवित्त, नेरुडे लघुवित्त, निर्धन उत्थान, साना किसान लघुवित्त, एनआरएन लघुवित्त र उन्नति सहकार्य लघुवित्त १० प्रतिशत सेयरमूल्यमा वृद्धि भएको छ।

वोमी लघुवित्तले आज नै ३० प्रतिशत लाभांश प्रस्ताव गरेपछि लघुवित्त समूहमा उछाल आएको जानकार बताउँछन्। पछिल्लो समयमा लगानीकर्ताहरु आधारभूत र प्राविधिक पक्षलाई समेत निकै चलाखीपूर्वक र सुरक्षित ढंगले अध्ययन गरी लगानी गर्ने लहड चलेको छ। जसमा आज वोमी लघुवित्तले ३० प्रतिशत बम्पर लाभांश घोषणा गरेपछि लघुवित्तमा लगानीकर्ताहरु झम्मिएका विश्लेषकहरुको भनाइ छ।

पछिल्लो समय नेप्सेमा प्रायः सबै सेक्टरमा लगानी गर्दै आएका लगानीकर्ता केही दिनयता लघुवित्त कम्पनीमा पनि प्रवेश गरेका थिए। विगतको बुलिस बजारमा लघुवित्त कम्पनीहरुका सेयरमूल्य ३ देखि ४ हजार रुपैयाँसम्म प्ुगेको र आकर्षक बम्बर लाभांश दिने क्षमता लघुवित्तले बनाउने भएकाले समेत अब लघुवित्तका लगानीकर्ताहरु मालामाल हुने दिन आएको विश्लेषकहरुको दाबी छ।

नेपाल राष्टबैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तयारी गरिरहेको छ । समीक्षामा लघुवित्त कम्पनीहरुको पूँजीवृद्धि सम्बन्धी नीति आउँदैछ भन्ने हल्ला चलेका कारण पनि लघुवित्त कम्पनीहरुमा लगानीकर्ता झुम्मिएका हुन् । केन्द्रीय बैंकले भने मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामै कुनै नीतिगत परिवर्तन हुन्छ वा हुँदैन प्रष्ट पारिसकेको छैन । समीक्षा छिटोमा शुक्रबारभित्र सार्वजनिक गर्ने केन्द्रीय बैंकको प्रयास छ ।