– रेखा चन्द

काठमाण्डौ । लघुवित्त क्षेत्रमा पछिल्लो समय समस्या देखा परेको छ। 

लघुवित्त वित्तीय संस्थाहरुले कर्जा असुलीमा ज्यादती गरेको भन्दै देशभरबाट लघुवित्तविरुद्धमा चर्का आवाज उठिरहेका छन्। सडकदेखि सदनसम्म लघुवित्तले ग्रामीण क्षेत्रमा सोझासाझालाई ऋण असुलीको नाममा चरम दुःख दिएको र कतिपयको उठीबास नै लगाएको भन्दै त्यस्ता संस्थाहरुलाई कारबाहीको माग उठिरहेका छन्।

अर्कोतर्फ लघुवित्तविरुद्धको संघर्ष समितिले लघुवित्तका ग्राहकलाई भड्काएर ऋण मिनाह हुने प्रलोभन देखाएर कर्जा तिर्न नहुनेदेखि लघुवित्त खारेजी हुनुपर्नेसम्मको आन्दोलन चर्काएको थियो। केही लघुवित्तमा मात्रै देखिएको समस्याले अहिले यो क्षेत्र नै बदनाम हुँदै गइरहेको छ। नियमित किस्ता–साँवा तिरिरहेका ऋणीहरुले पनि यो अभियानका कारण कर्जा तिर्न छाडेको अवस्था छ। 

नियामक राष्ट्र बैंकको अनुगमनको कमी, लघुवित्त संस्था स्वयं नाफामुखी हुनु र ऋणीहरुमा शिक्षाका कमीका कारण यो समस्या निम्तिएको सरोकारवाला बताउँछन्।

लघुवित्तका कारणमात्रै यस्तो समस्या नआएको लघुवित्तकर्मीहरु बताइरहेका छन्। यो समस्याले अहिले ठूलो रुप लिँदा राष्ट्र बैंक केही सचेत बनेको छ। राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आजमात्रै लघुवित्त वित्तीय संस्थाको विषयमा सरोकारवालाहरुलाई डाकेर छलफल गरेका थिए। जससँगै राष्ट्र बैंकले लघुवित्तहरुका लागि ८ बुँदे निर्देशन जारी गरेको छ।

लघुवित्तमा देखिएका यस्ता समस्याका कारण नेप्सेमा सूचीकृत भएका कम्पनीहरुको सेयर मूल्यमा कस्तो प्रभाव पर्ला भन्ने आमचासोको विषय बनेको छ। समग्र नेप्से परिसूचक नै घटिरहेको अहिलेको परिवेशमा विशेषगरी लघुवित्तको सेयर भाउमा कस्तो असर पर्ला ? 

माघ ११ गतेअघि सामान्य अवस्थामै यो क्षेत्रको सेयर कारोबार भइरहेकोमा त्यसयता भने दैनिकजसो ठूलो अंकले घटेको छ। माघ ११ पछि नेप्सेमा १७ दिन कारोबार भएको छ। जसमा लघुवित्त क्षेत्रको सेयरमूल्य ३ दिनमात्रै बढेको छ भने बाँकी १४ दिन निरन्तर घटेको छ। योबीचमा लघुवित्त क्षेत्रको सेयरभाउ १७० अंकले बढ्दा झन्डै ७०० अंकको गिरावट आएको छ। माघ ११ मा ४८३८.४६ विन्दुमा रहेको लघुवित्त सेक्टर घटेर ४३१९.०४ बिन्दुमा कायम भएको छ। 

तथ्यांकले नै लघुवित्तविरुद्ध धमाधम निस्किएका वास्तविकता र हल्लाले दुवैले लगानीकर्ताको मनोबल केही खस्किएको देखाउँछ। 

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएको समस्याभन्दा पनि हल्ला बढी भएकाले लघुवित्तहरुको सेयर भाउ घटेको बताउँछन्। ‘यो क्षेत्रमा समस्या देखिएकै हुन्, कर्जा तिर्न नसकेर आत्महत्याका कुरा पनि सुन्निछन्, संसदमा पनि कुरा उठेको अवस्था छ, समाचारमा पनि राम्राभन्दा नराम्रा कुराहरु धेरै आए’, उनले भने, ‘आएका कुराहरु केही सत्य पनि छन् तर केही बढाइचढाइ आएकाले त्यसको प्रभाव लघुवित्तको सेयर भाउमा परेको देखिन्छ।’

यस्तै दोस्रो त्रैमासमा वित्तीय विवरण राम्रो नआएको, मिटब्याजीलगायका कुरा बाहिरिँदा लगानीकर्ताको मनोबल घटेको रौनियारको भनाइ छ। आजसम्मको तथ्यांक हेर्दा लघुवित्तको भाउ धेरै घटिसकेको उनले बताए। ‘पहिले नै ४०–५० प्रतिशत घटिसकेको छ लघुवित्तको मूल्य, अहिलेको घटाइलाई हेर्दा लगानी गर्नेहरुलाई इन्भेस्टमेन्ट गर्ने समय हो’, उनले भने। 

बजार जानकार नयन बास्तोला हल्लाको भरमा पनि लघुवित्तको सूचक घटेको हो भन्न सकिने बताउँछन्। ‘लघुवित्तविरुद्ध आएका हल्ला सुनियोजितभन्दा पनि वास्तविक हुन् जस्तो लाग्छ’, उनले भने, ‘नियामकै कारण यस्तो समस्या आएका हो, जनतामा पनि जागरुकता आएका देखिँदैन, त्यो जागरुकता ल्याउने काम सरकार र नेपाल राष्ट्र बैंकको थियो तर राष्ट्र बैंक नै स्वार्थ अनुसार विजनेश गर्नमा तल्लिन रह्यो।’ 

सही समयमा राष्ट्र बैंकले सीमित कार्यक्षेत्रमा राखेर एउटा सिस्टम बनाइदिएको भए लघुवित्त क्षेत्रमा यस्तो समस्या नआउने उनको भनाइ छ। 

यस्तै बजार जानकार सूर्यनारायण पौडेल नकारात्मक सूचनाहरु आइरहेकाले पनि अहिले लघुवित्तको सेयरमूल्य घटेको बताउँछन्। ‘नकारात्मक सेन्टिमेन्ट अहिले भइरहेको र नकारात्मक सूचनाहरुको कारणले जसले लघुवित्तको सेयर होल्ड गर्नुभएको छ, उहाँहरुले आत्तिएर सेयर बेचेको अवस्था छ’, उनले भने, ‘तर, राम्रा लघुवित्त संस्थाको सेयर हुनेहरुले होल्ड गर्दा हुन्छ।’