काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार सुस्त बनेको जनाएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लघुवित्त वित्तीय संस्थाको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। 

प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको देखिन्छ। अघिल्लो आर्थिक बर्षको दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ७.४४ प्रतिशतले वृद्धि भएकोमा यस आर्थिक बर्षको दोस्रो त्रयमासमा भने ०.३४ प्रतिशतले मात्रै वृद्धि भएको देखिन्छ। 

समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या २.१९ प्रतिशतले वृद्धि भई ५९ लाख ८८ हजार र ऋणी संख्या १.३० प्रतिशतले घटेर ३२ लाख ६० हजार पुगेको छ।

प्रदेशगत रुपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको देखिन्छ। २०७९ पुस मसान्तसम्ममा उक्त प्रदेशमा भएका शाखाको संख्या कुल शाखा संख्याको २३ प्रतिशत (११५५ शाखा) रहेको छ। 

पहुँचका हिसावले कर्णाली प्रदेशमा लघुवित्त संस्थाको उपस्थिति न्यून रहेको देखिन्छ। उक्त प्रदेशमा कुल शाखा संख्याको ४ प्रतिशतमात्रै शाखाहरु (२३० शाखा) रहेका छन्।

लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेको रहेको प्रतिवेदनमा उल्लेख छ। २०७९ असार मसान्तसम्ममा ६५ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०७९ पुस मसान्तसम्ममा ६४ वटा कायम भएको छ। ६४ वटा लघुवित्त वित्तीय संस्थामध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन्।