काठमाण्डौ। ललिता निवास प्रकरणमा भाटभटेनीका मालिक मीनबहादुर गुरुङसहित १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 
सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाण्डौ जिल्ला अदालतबाट गुरुङसहित १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी गरिएकामा अधिकांश कर्मचारी र जग्गा आफ्नो नाममा ल्याउनेहरु छन्।

२०४९ मा जग्गा हडप्ने कसुरमा संलग्न भनिएका ४० जना फरार सूचीमा रहेका, २०६२ मा जग्गा हिनामिनामा संलग्न १५ जना, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको निवास विस्तारका लागि भन्दै नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिएको प्रकरणमा ८० जना र २०६९ मा नक्कली टिकिन्छा गुठी कायम गरी नक्कली मोही खडा गर्ने ८५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको ब्युरोले जनाएको छ। 

पक्राउ पुर्जी जारी भएकामा २०४९ सालमा मालपोत विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्यका आफन्त, शाखा अधिकृत प्रेमबहादुर खापुङ, योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारी, प्रमुख मालपोत अधिकृत कलाधर देउजा, मालपोत अधिकृत सुरेन्द्रमान कपाली, डिल्लीबजार मालपोतका नायब सुब्बा जगन पुडासैनी, समरजंग कम्पनीका सहलेखापाल विनोदप्रसाद पौडेल, बिचौलिया रामकल्याण अधिकारी र रामनाथ अधिकारी छन्।

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ। यसबाहेक थप व्यक्तिहरुबारे सीआईबीले थप अनुसन्धान अगाडि बढाएको हो। जसमध्ये १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। 

ललिता निवास प्रकरणमा सीआईबीले २०७७ मा वृस्तृत अनुसन्धान गरी १४३ रोपनी जग्गा हिनामिना भएको भन्दै ४०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो।

सीआइबीले तत्कालीन मन्त्री विजयकुमार गच्छेदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, छविराज पन्त सञ्जय साहलाई पनि आरोपी ठहर गरेपछि अख्तियारले मुद्दा दर्ता गरेको थियो। १७५ जनाविरुद्ध मात्र मुद्दा दायर गरेर ३२५ जनाविरुद्ध मुद्दा दर्ता गरिएन।

अख्तियारले १७५ जनाविरुद्ध मुद्दा दर्ता गर्दा २० अर्बको बिगो दाबी गरेको थियो। ११० जनाविरुद्ध भ्रष्टाचार मुद्दा र ६५ जनाविरुद्ध जग्गा जफतको मुद्दा दायर भयो। जसमा ३ पूर्वमन्त्री र ३ पूर्वसचिव पनि परे।

सबैभन्दा बढी बिगो दाबी रामकुमार सुवेदी र शोभाकान्त ढकालविरुद्ध गरियो। त्यसपछि मीनबहादुर गुरुङविरुद्ध बिगोदाबीसहित मुद्दा दायर भयो। तत्कालीन सचिवहरु छविराज पन्त, दीप बस्न्यात र दिनेशहरि अधिकारीविरुद्ध पनि मुद्दा दायर भयो।