– अनन्त्य सुन्दर

काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, २०६४ को चौथो संशोधन नियमावली स्वीकृत गरेसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई नयाँ ब्रोकर लाइसेन्स वितरणको बाटो खुलेको छ। 

मन्त्रिपरिषद्बाट उक्त नियमावली पास भएसँगै सेबोनले असोज महिनामा नै नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको छ। सेबोन अध्यक्ष रमेशकुमार हमालले सेबोनले खुला प्रणालीबाट हाकिमको तजबिजी बिना नै ३५ दिनमा मापदण्ड पुर्याउने सबैले ब्रोकर लाइसेन्स पाउने बताउँदै आएका छन्।

सेबोनले नयाँ ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया अघि बढाउने भएपछि अहिले व्यावसायिक घरानादेखि राजनीतिज्ञ, लगानीकर्ता संघसंगठनका अगुवासम्म ब्रोकर लाइसेन्स लिने तयारीमा भएको देखिन्छ। नेपालको सेयर बजारमा झन्डै २२ अर्ब रुपैयाँसम्म कारोबार हुँदा सञ्चालनमा रहेका ५० वटै ब्रोकरहरुले मनग्गे कमाएका थिए। त्यसैले अहिले ब्रोकर लाइसेन्स धेरैजसोको चासोको विषय बनेको छ।

सेबोनका एक उच्चस्तरीय कर्मचारीका अनुसार अहिले मुलुकका ठूलठूला व्यवसायीदेखि लगानीकर्ता, राजनीतिज्ञसम्म ब्रोकर लाइसेन्स लिने तयारीमा छन्। ‘असोज महिनामै नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने सेबोनले तयारी गरिरहेको छ’, ती अधिकारीले भने, ‘अर्कोपटक नयाँ ब्रोकर लाइसेन्स ३ वर्षपछि मात्र वितरण गर्न पाउने भएकाले सेबोनले अहिले लाइसेन्स खुलाएकै बेला नै ब्रोकर लाइसेन्स लिने तरखरमा धेरै छन्।’

सेबोनले अहिले असोजमा नयाँ ब्रोकर लाइसेन्स दिने गरी तयारीमा अघि बढाएको छ। ‘मन्त्रिपरिषद्बाट पारित नियमावलीअनुसार अर्कोपटक ३ वर्षपछि मात्र नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गर्न मिल्छ’, ती अधिकारीले भने, ‘सेबोन सञ्चालक समितिमा पारित धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, २०६४ नियमावलीमा प्रत्येक आर्थिक वर्ष योग्य इच्छुक कम्पनी वा संगठित संस्थालाई ब्रोकर लाइसेन्स वितरण गर्ने उल्लेख थियो। तर मन्त्रिपरिषद्बाट संशोधित नियमावलीअनुसार सेबोनले अहिले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेपछि अर्को आवेदन ३ वर्षपछि मात्र खुला गर्न पाइने उल्लेख छ।’

‘सेबोनले ३ वर्षपछि फेरि नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने सम्भावना न्यून छ’, ती अधिकारीले भने, ‘त्यसैले अहिले लाइसेन्स खुलेको बेला नै धेरैजसोको नयाँ ब्रोकर लाइसेन्सको लिने तयारी रहेको देखिन्छ।’

संशोधित नियमावलीमा ब्रोकरको काम गर्नका लागि न्यूनतम चुक्तापुँजी १५ करोड रुपैयाँ, डीपीका साथै मार्जिन कारोबार सञ्चालन गर्ने ब्रोकरको न्यूनतम चुक्तापुँजी ५० करोड रुपैयाँ र स्टक डिलरको काम गर्नका लागि न्यूनतम १ अर्ब रुपैयाँ चुक्तापुँजी हुनुपर्ने व्यवस्था छ।