– रेखा चन्द

काठमाण्डौ । लाखौँ रकम हिनामिना लागेका नेपाल बैंकको बर्दिया गुलरिया शाखाका प्रबन्धक धबेन्द्र न्यौपाने झन्डै २ हप्तादेखि बेखबर छन्। 

निक्षेपकर्ताको लाखौँ रकम हिनामिना गरी साउन १३ गतेदेखि एकाएक फरार भएका न्यौपाने आज २५ गतेसम्म पनि न त बैंकको सम्पर्कमा आएका छन् न त प्रहरीले फेला पार्न सकेको छ। 

बैंकले गरेको प्रारम्भिक अनुसन्धाले उनले निक्षेपकर्ताको झन्डै ५१ लाख रकम अपचलन गरेको देखाएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारी बताउँछन्। ‘हामीले न्यौपानेको परिवारसँग पनि भेट गरेका छौँ, उनी अहिलेसम्म कसैको सम्पर्कमा आएका छैनन् र हाम्रो टोली पनि थप तथ्य बुुझ्न पुनः बर्दिया आएको छ’, उनले भने, ‘हाम्रो प्रारम्भिक अनुसन्धामा न्यौपानेले झण्डै ५१ लाख रकम हिनामिना गरेको देखाएको छ।’ 

प्रवक्ता अधिकारीले ग्राहकले जम्मा गरेको रकम सुुरक्षित रहेकाले कसैलाई पनि नआत्तिन आग्रह गरे। ‘बैंकमा भएको हिनामिनालाइ रिकभर गर्न हामी सफल भइरहेका छौँ’, उनले भने, ‘सबै ग्राहकको रकम सुरक्षित छ।’

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदी पनि न्यौपानेको खोजीकार्य जारी नै रहेको बताउँछन्। ‘उनी आजसम्म पनि कसैको सम्पर्कमा आएका छैनन्, त्यसैले हाम्रो अनुसन्धान जारी छ’, उनले भने। 

भएको के हो ?

न्यौपाने यसअघि सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाल बैंकको शाखामा कार्यरत थिए। बैंकले उनलाई गत वैशाखबाट गुलरिया शाखाको जिम्मा सम्हाल्नेगरी पोस्टिङ गर्ने निर्णय गरेको थियो। ‘न्यौपाने राम्रो मान्छे भएकाले हामीले सबैको सुझाव अनुसार उनलाई विश्वास गरेर बैंकको सबै जिम्मेवारी दिएका थियौँ’, प्रवक्ता अधिकारीले भने। 

नेपाल बैंकमा सहायक शाखा प्रबन्धकबाट नाम निकालेका ३२ वर्षीय न्यौपानेले सुर्खेतबाटै सेवा सुरु गरेका थिए। उनी कालिकोट तिलगुफा नगरपालिका–५ का हुन्। हाल उनी पछिल्लो समय बाँके जानकी गाउँपालिका–३ कोरिएनपुर बस्दै आएका थिए। 

न्पौपानेले जानाजान एउटा खातामा भएको पैसा अर्काेमा, अर्को खाताको पैसा अर्कोमा हालेको बैंकको प्रारम्भिक अनुसन्धानले देखाएको र कतिपय खाताबाट उनले आफ्नै खाता पनि रकम हालेको देखिएपछि बैंकले यो घटनालाई निगरानीमा राखेको थियो। त्यसपछि बैंकले सो शाखामा के–कति रकम हिनामिना भएको छ, त्यसको छानबिन गर्न विशेष अनुसन्धान टोली पठाउने तयारी गरिरहेको थाहा पाएपछि उनी साउन १३ गतेदेखि नै एकाएक बेपत्ता भएको बैंकका कर्मचारीहरु बताउँछन्। 

न्यौपानेको परिवारले पनि उनी सम्पर्कविहीन भएको भन्दै गत साउन १४ जिल्ला प्रहरी कार्यालय बर्दियामा निवेदन दिएको छ। खोजतलास भइरहेको अवस्थामा फेरि नेपालगन्ज बैंकको कार्यालयबाट उनले आर्थिक अपचल गरेको भन्दै खोजतलासका लागि अर्को जाहेरी परेको थियो। जाहेरी साउन १८ गतेमात्रै दर्ता भएको थियो।