काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।

बजार आज ६१.२७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २७५८.४८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.७० अंकले घटेर ५१९.३६ को विन्दुमा ओर्लेको छ। आज साढे ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार आजको बजार घटाइलाई सामान्य करेक्सनकै रुपमा लिनुपर्ने बताउँछन्। केही दिनअघि बजार तेहेरो अंकले बढ्दा सेयर किनेकाहरुले नाफा बुक गर्दा आज बजारमा करेक्सन आएको उनको भनाइ छ। 

बैंकहरुको ब्याजदर बढ्ने हल्ला निराधार रहेको रौनियार बताउँछन्। ‘बैंकहरुको ब्याजदर बढ्ने सम्भावना छैन’, उनले भने। 

बजारमा ठूलो संख्यामा लगानीकर्ताहरु सक्रिय रुपमा कारोबार गरिरहेको र रेमिट्यान्स पनि आइरहेकोले तरलता सहज नै हुने रौनियारको तर्क छ। ‘त्यसैले बजार प्रभावित हुने सम्भावना छैन’, उनले भने, ‘अहिले विश्वभरका सेयर बजार बढिरहेका छन्, त्यसैले नेपालको सेयर बजार पनि सकारात्मक नै रहन्छ।’

रौनियारले घटेको बजारमा सेयर किन्ने अवसर रहेको बताए। 

स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्की आज बजार घट्नुमा २ वटा कारण रहेको बताउँछन्। उनको विचारमा पहिलो कारण दसैँका लागि खर्च जोहो गर्नका लागि सेयर बेच्दा बजार ओरालो लाग्यो। ‘दोस्रो भनेको अल्पकालीन लगानीकर्ताहरुले नाफाबुक गर्दा पनि बजार घट्यो’, उनले भने।

बजार चौतर्फी रुपमा सकारात्मक नै रहेको उल्लेख गर्दै कार्की अहिले लाभांशको सिजन रहेको, कम्पनीहरुको पहिलो र दोस्रो त्रैमासको राम्रै आउने, पुँजीबजारप्रति अर्थमन्त्री पनि सकारात्मक रहनु र धितोपत्र बोर्ड पनि लगानीकर्ताहरुका माग प्रति सकारात्मक नै रहेको बजार बढ्नेमा विश्वस्त देखिन्छन्। 

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा समूह ओरालो लागेको छ भने एउटामात्रै उकालो लागेको छ। म्युचुअल फन्ड समूहमा ०.२१ प्रतिशतको बढोत्तरी भएको हो।

आज वित्त समूह सर्वाधिक ५.८९ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ४.३ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.९३ प्रतिशत, व्यापार समूहमा ३.१५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.६९ प्रतिशत, विकास बैंक समूहमा २.६९ प्रतिशत, निर्जीवन बीमा समूहमा २.८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७७ प्रतिशत, अन्य समूहमा २.४८ प्रतिशत, लघुवित्त समूहमा २.२९ प्रतिशत, जीवन बीमा समूहमा २.३७ प्रतिशत र लगानी समूहमा ३.३८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ३३ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयरको ३१ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बैंकको २१ करोड ३४ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको २० करोड ५८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १७ करोड ८३ लाख रुपैयाँ, मेगा बैंकको १७ करोड ७० लाख रुपैयाँ, सिटिजन्स बैंकको १७ करोड ३० लाख रुपैयाँ, नबिल बैंकको १६ करोड ७२ लाख रुपैयाँ, सानिमा बैंकको १५ करोड ७६ लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज मनकामना स्मार्ट लघुवित्त सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ। 
यो दिन आईसीएफसी फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो फाइनान्सको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।