काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आकर्षक लाभांश वितरण गर्नेमा नवील बैंकले अरु सबैलाई उछिनेको छ । हालसम्म सबै २५ वाणिज्य बैंकहरुले गत वर्षका लागि लाभांश वितरणको घोषणा गरिसकेका छन् । केही बैंकहरुले साधारणसभा नै आह्वान गरी प्रस्तावित लाभांश वितरण समेत गरिसकेका छन् । सिभिल बैंकले भने लाभांश घोषणा गरिसकेको छैन । 

गत वर्ष त्यसभन्दा अघिल्लो वर्षको नाफाबाट आकर्षक लाभांश वितरण गर्नेमा एनएमबी बैंक सबैभन्दा अगाडि थियो । तर, गत वर्षको शीर्ष स्थानमा रहेको एनएमबी बैंक यसपटक चौथो स्थानमा पुगेको छ।

सबैभन्दा अन्तिममा लाभांश घोषणा गरेको नवील बैंकले यसपटक सबैलाई उछिनेको छ । नवील बैंकले कुल ३५.३६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

नवील बैंकपछि आकर्षक लाभांश घोषणा गरेर एनआइसी एशिया बैंक र हिमालयन बैंक दोश्रो स्थानमा रहेका छन् । दुवै बैंकले २० प्रतिशत लाभांश घोषणा गरेका हुन् । एनआइसी एशिया बैंकले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश तथा हिमालयन बैंकले १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

तेश्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यो बैंकले १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद लाभांश गरी कुल १८.५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

चौथो स्थानमा एनएमबी बैंक रहेको छ । एनएमबी बैंकले १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद लाभांशसहित कुल १६.२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

त्यसपछि नेपाल बैंक लिमीटेड, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक लिमीटेड रहेका छन् । यी तीनै बैंकले १६ प्रतिशतका दरले लाभांश वितरणको घोषणा गरेका छन् ।

त्यसपछि कृषि विकास बैंक १५.७८ प्रतिशत लाभांश घोषणासहित नवौं स्थानमा छ ।  

सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकले १५ प्रतिशत लाभांश घोषणा गरी टप टेनमा समेटिन सफल बनेका छन् । 

सबैभन्दा कम लाभांश घोषणा गर्नेमा सेञ्चुरी कमर्सियल बैंक रहेको छ । उसले कुल ७.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । सनराइज बैंकले ८.२८ र नेपाल बंगलादेश बैंकले ८.२४ प्रतिशत लाभांश वितरणको घोषणा गरेका छन् । 

सिभिल बैंकबाहेकका बैंकहरुले कति लाभांश घोषणा गरे ? हेर्नुहोस् यो सूची: