काठमाण्डौ । पूँजीबजारलाई व्यवस्थित गराई लगानीकर्तालाई सहज कारोबारको वातावरण बनाउन कस्सिएको नेपाल धितोपत्र बोर्डले नेप्समा सूचिकृत सबै कम्पनीहरुलाई लाभांश वा सार्वजनिक निश्कासनको क्रममा लगानीकर्ताले फिर्ता पाउनुपर्ने रकम उनीहरुको बैंक खातामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था लागू गरेको छ । 

मंगलबार बोर्डले विज्ञप्तिमार्फत नेप्सेमा सूचिकृत कम्पनीहरुले घोषणा गरेको नगद लाभांश र सेयरको सार्वजनिक निश्कासन(एफपीओ र आइपीओ)को क्रममा धितोपत्र बाँडफाडपछि माग गरेअनुसार सेयर नपरेपछि फिर्ता गर्नुपर्ने लगानीकर्ताको रकम उनीहरुले दरखास्त दिंदा उल्लेख गरेको बैंक खातामा अनिवार्य रुपमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो । 

बोर्डको यो निर्देशनले बैंक, बित्तीय संस्था तथा नगद लाभांश घोषणा गर्ने नेप्समा सूचिकृत कम्पनीका सेयरधनीले घण्टौ लाइनमा बस्ने बाध्यता अन्त हुने भएको छ । यसैगरी, विभिन्न बित्तीय संस्थाहरुले लाभांश पाउन वा सार्वजनिक निश्कासनमा सेयर नपरेपछि आफ्नै रकम फिर्ता पाउन समेत उनीहरुकोमा खाता खोल्नुपर्ने दवाब समेत हट्ने भएको छ । बोर्डले यसअघि नै आफूले जारी गरेको निर्देशनविपरीत लगानीकर्ता वा सेयरधनीलाई दुःख दिने काम कोही कतैबाट भए आफूलाई फोन गर्न सकिने भन्दै टोल फ्रि नम्बर नै उपलब्ध गराइसकेको छ । 

यसअघि धितोपत्र बोेर्डकै अनुरोधमा नेपाल राष्ट्रबैंकले क, ख र ग वर्गका बित्तीय संस्थाहरुले कडा निर्देशन दिंदै नगद लाभांश र सेयर नपरेको रकम फिर्ता गर्दा अनिवार्य रुपमा बैंक खातामै जम्मा गर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको थियो । यो निर्देशनमा थप बल पुर्याउन र लगानीकर्तालाई सहज बनाउने उद्देश्यले बोर्डले सूचिकृत कम्पनीहरुको नाममा पनि पुनः अर्को निर्देशन जारी गरेको हो । 

‘यो व्यवस्थाले देशका विभिन्न क्षेत्रबाट बैंक तथा बित्तीय संस्थासहित सम्पूर्ण सूचिकृत कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ताहरुलाई नगद लाभांश लिन काठमाण्डौ नै आउनुपर्ने व्यवस्थाको अन्त भई सहजै नगद लाभांश पाउने व्यवस्था हुनेछ ।’ बोर्डको विज्ञप्तिमा भनिएको छ–‘सार्वजनिक निश्कासनको क्रममा धितोपत्र बाँडफाँडपछि लगानीकर्ताले माग गरे बमोजिम शेयर प्राप्त गर्न नसकेको खण्डमा त्यस्तो रकम लगानीकर्ताले दरखास्त फारममा उल्लेख गरेको खातामा सिधैं जम्मा हुने भएकोले लगानीकर्ताको समय बचत तथा अनावश्यक झञ्झटबाट मुक्त हुनेछन् ।’ 

यो कदमले धितोपत्र बजारप्रति लगानीकर्ताको थप विश्वास बढ्न गई समग्र पुँजीबजारको समयानुकुल विकास र सुगमता आउने समेत बोर्डले विश्वास व्यक्त गरेको छ । 

धितोपत्र बोर्डको विज्ञप्ति हेर्न यहाँ क्लिक गर्नुहोस् ।