काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमीटेडको लाभांश क्षमता बढेको छ । यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गरेको हो । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा करिब ४३ प्रतिशतले बढी हो ।

बैंकको खूद तथा संचालन मुनाफातर्फ निकै राम्रो प्रगति देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा २२ करोड ९७ लाख रुपैयाँ रहेको खूद नाफा बढेर यो वर्ष ३० करोड १९ लाखको उचाईमा पुगेको छ भने ३२ करोड ६० लाखमा सीमित संचालन मुनाफा समेत बढेर ४५ करोड रुपैयाँ पुगेको छ । 

बैंकले पछिल्लो समय व्यवसाय बिस्तारमा निकै आक्रामक गति लिएको छ । यसैको परिणाम स्वरुप अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३४ करोड २८ लाखमा सीमित खूद ब्याज आम्दानीतर्फ १०१.३४ प्रतिशतको फड्को मारी ६९ करोडको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा यो बैंकले ४७ अर्ब ६ करोड निक्षेप संकलन गरी तथा १ अर्ब ३२ करोड बढी सापटी लिई ४८ अर्ब ४१ करोड बढी कर्जा परिचालन गरेको छ । बैंकको सीसीडी रेसियो निकै टाइट देखिएको छ । 

निक्षेप ११ प्रतिशतले बढाउँदा कर्जा भने दोब्बर २२ प्रतिशतले बढाएको छ । बैंकको निक्षेप र कर्जातर्फको चलाई असन्तुलित देखिएको छ, जुन राम्रो होइन ।

बैंकको अघिल्लो वर्षसम्म ३ अर्ब ८६ करोडमा सीमित रिजर्बकोषमा सामान्य मात्र प्रगति भएको छ । समीक्षा अवधिसम्म बैंकको रिजर्बमा  ४ अर्ब ६ करोड सञ्चित रहेको छ । 

बैंक व्यवस्थापनले खराब कर्जालाई भने नियन्त्रण गर्न नसकेको देखिएको छ । यही कारण खराब कर्जा अनुपात ०.७३ प्रतिशतबाट  ११२.३३ प्रतिशतले बढी १.५५ प्रतिशत पुगेको छ । 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) पनि  १६ रुपैयाँ २१ पैसाबाट घटेर १४ रुपैयाँ ९४ पैसामा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १५०.२४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २० गुणा कायम भएको छ ।