काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेन्डासहित प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी असोज ७ गते विशेष साधारणसभा आह्वान गरेको छ ।

संस्थाको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले विशेष साधारणसभाको मिति र स्थान तय गरेको हो । विशेष साधारणसभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा गरिने छ ।

संस्थाले गत २०७३/७४ का लागि आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँको १२.५ प्रतिशत दरले हुन आउने २२ करोड ३१ लाख ४ हजार ३७५ रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर प्रयोजनका लागि १ कारोड १७ लाख ४२ हजार ३३६ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई विशेष साधारणसभाले पारित गर्नेछ ।

त्यस्तै संस्थाले लाभांश वितरण र विशेष साधारणसभाका लागि भदौ ३१ गतेदेखि सेयर दाखिला खारेज गर्ने भएको छ । यसको अर्थ लाभांश पाउन र विशेष साधारणसभामा भाग लिन भदौ ३० गतेसम्म सेयर खरिद गरेकाका सेयरधनीहरु योग्य हुनेछन् ।