काठमाण्डौ । रिलायन्स फाइनान्स लिमीटेडले आगामी साउन ८ गतेदेखि बिक्री नभएको हकप्रद सेयरको लिलामी खुलाउने भएको छ । 

यो कम्पनीले ३ लाख १ हजार २ सय ७४.५२ कित्ता बिक्री नभएको संस्थापक सेयरको बिक्री खुलाउन लागेको हो । लिलामीमा सहभागी हुनका लागि साउन १६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । 

इच्छुकले न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लिलामीमा सहभागी हुन चाहनेले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँको मूल्य लगाउनुपर्नेछ । 

लिलामी प्रक्रियालाई सहजीकरणका लागि सनराइज क्यापिटलले निश्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछ । 

यो फाइनान्स कम्पनीले यसअघि ५ लाख ४२ हजार ३ सय १४ कित्ता सेयर लिलामीमा राखेको थियो । यसअघि २ पटक लिलामीमा ल्याए पनि कम्पनीको सेयर बिक्री हुन सकेको छैन । यो पटकको लिलामी तेश्रो हो ।

कम्पनीले हालै सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ५१ करोड २५ लाख रुपैयाँ रहेको छ ।

४५ प्रतिशत हकप्रद तथा १२ प्रतिशत बोनसपछि बढेर ८३ करोड २४ लाखको उचाईमा पुग्नेछ । यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ११९ रुपैयाँ रहेको छ।