काठमाण्डौ । पाँच कम्पनीका लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज शुक्रबार अन्तिम दिन रहेको छ।

एनआईसी एसिया बैंक लिमिटेडले गत आइतबारबाट लिलामीमा चारवटा अन्य कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक समूहका कुल ६ लाख २७ हजार २०० कित्ता सेयरमा आज बैंकिङ समयभित्र बोलपत्र पेस गर्नुपर्नेछ।

लिलामीमा राखिएका सेयरमा नागरिक लगानी कोषको २ लाख २ हजार ५६० कित्ता, नेसनल लाइफ इन्स्योरेन्सको १ लाख ३ हजार ९७६ कित्ता, एसियन लाइफ इन्स्योरेन्सको १ लाख ३० हजार २९० कित्ता र सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९० हजार ३७४ कित्ता रहेका छन्। लिलामीमा राखिएको सेयरमा इच्छुक योग्य सबै लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

लिलामीमा राखिएको नागरिक लगानी कोषको न्यूनतम प्रतिकित्ता १ हजार ७१५ रुपैयाँ, नेसनल लाइफको ५५० रुपैयाँ, एसियन लाइफको ४६९ रुपैयाँ र सूर्या लाइफको ३३७ रुपैयाँ तोकिएको छ। यसका लागि लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। बोलपत्र काठमाण्डौको बबरमहलस्थित क्यापिटलको कार्यालय वा एनआईसी एसिया बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालयका साथै शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रचोक सुर्खेतमा पेस गर्न सकिनेछ।

यसैगरी नेपाल फाइनान्सले गत शुक्रबारबाट लिलामीमा राखेको अवितरित ५ लाख बढी हकप्रद सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र आवेदन दिनुपर्नेछ। 

कम्पनीले ५ लाख १५ हजार २४८.२५ कित्ता सेयर लिलामीमा राखेको छ। लिलामीमा राखिएको कुल कित्तामध्ये संस्थापक सेयर २ लाख ५५ हजार ७८.७५ कित्ता र सर्वसाधारण सेयर २ लाख ६० हजार १६९.५० कित्ता छन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाहले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण सेयरका लागि न्यूनतम १०० कित्ता लागि वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र काठमाण्डौको कमलादीस्थित क्यापिटलको कार्यालय, कमलादीमै रहेको नेपाल फाइनान्सको केन्द्रीय कार्यालय वा प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ।